प्रधानमन्त्रीले उपयुक्त समयमा विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पुष्पकमल दाहालले उपयुक्त समयमा संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीले पदबाट राजीनामा पनि नदिने र विश्वासको मत लिनका लागि ३० दिनसम्म पनि नकुर्ने बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैँया ५१ पैसा र मध्यम धानको प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैँया ६२ न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

बैठकले नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा, संरक्षण, लगाएत आवश्यक अन्य कार्यको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने ‍निर्णय गरिएको छ ।

त्यसैगरी चीन सरकारको अनुदानमा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा एकीकृत जाँच चौकी (ICP) र अरनिको राजमार्गको चौथो चरणको निर्माणका लागि संभाव्यता अध्ययनको प्रकृया अघि बढाउने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । रासस


ताजा खबर