राजा चार्ल्सबाट गोर्खालीलाई ‘स्लिम ट्रफी’ सम्मान प्रदान

ब्रिटिश सेनामा कार्यरत नेपाली मूलका क्याप्टेन विजय प्रकाश लिम्बु (१ आर.जी.आर.) प्रतिष्ठित ‘स्लिम ट्रफी’ बाट सम्मानित भएका छन्। उक्त सम्मान बेलायतका किङ्ग चार्ल्स थर्ड (महाराजाधिराज राजा चार्ल्स तृतीय) बाट प्रदान गरिएको हो

क्याप्टेन लिम्बुलाई प्राप्त यो सम्मानले उनको उत्कृष्ट सैनिक सेवा, नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा कर्तव्यप्रतिको उच्च समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको छ। विशेष गरी उनको स्पेशल एयर सर्भिस (एस.ए.एस।) सँगको सम्बन्ध र सैनिक जीवनमा देखाएको असाधारण प्रदर्शनका कारण उनी यो प्रतिष्ठित पुरस्कारका लागि छनोट भएका हुन्।

‘स्लिम ट्रफी’ ब्रिटिश सेनाभित्र उत्कृष्ट सेवा, साहस, नेतृत्व र उल्लेखनीय उपलब्धि हासिल गर्ने सैनिक तथा अधिकृतहरूलाई प्रदान गरिने एक महत्वपूर्ण सम्मान हो। यो ट्रफी दोस्रो विश्वयुद्धका दौरान बर्मा अभियानमा चौधौँ सेनाको सफल नेतृत्व गरेका प्रख्यात सैनिक कमाण्डर विलियम स्लीम को सम्मानमा स्थापना गरिएको हो। फिल्ड मार्शल स्लिमले सन् १९४८ देखि १९५२ सम्म बेलायती सेनाको सर्वोच्च व्यावसायिक पद चिफ अफ द इम्पेरियल जनरल स्टाफ को जिम्मेवारीसमेत निर्वाह गरेका थिए।

ब्रिटिश सेनाभित्र अत्यन्तै प्रतिष्ठित मानिने यो पुरस्कार प्राप्त गर्नु नेपाली समुदाय तथा विशेषगरी गोर्खा सैनिक परम्पराका लागि गौरवको विषय बनेको छ। क्याप्टेन विजय प्रकाश लिम्बुले आफ्नो व्यावसायिक उत्कृष्टता, नेतृत्व क्षमता र राष्ट्रप्रतिको समर्पणमार्फत नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

उनको यस ऐतिहासिक उपलब्धिले ब्रिटिश सेनामा नेपाली गोर्खा सैनिकहरूको योगदान र क्षमताप्रतिको सम्मानलाई थप उचाइमा पुर्‍याएको छ।

सफल नेपाल परिवारका तर्फवाट क्याप्टेन विजय प्रकाश लिम्बुलाई यस गौरवपूर्ण उपलब्धिका लागि हार्दिक बधाई तथा अझ उत्कृष्ट सफलताको शुभकामना।


ताजा खबर