आइएमएफद्धारा आकस्मिक ऋण राहत स्वीकृत

अन्तराष्ट्रिय मुद्रा कोषले आफ्ना २५ सदस्य राष्ट्रको लागि आकस्मिक ऋण राहत स्वीकृत गरेको छ ।

कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले एक विज्ञप्ति जारी गर्दै कोषको कार्यकारी बोर्डले कोरोना महामारीको असरलाई सम्बोधन गर्न कोषको महाविपत्ति नियन्त्रण तथा राहत ट्रस्ट मार्फत त्यसतो राहत सेवा दिने निर्णय गरेको जनाउनु भएको छ ।

कोषले अत्यन्त गरिब र सहयोग अत्यावश्यक देखिएका २५ सदस्य राष्ट्रलाई अनुदानस्वरुप सहयोग दिन लागिएको विज्ञप्तीमा जनाइएको छ ।

यो निर्णयले ती राष्ट्रको आईएमएफको ऋण अवधी अर्को छ महिनासम्मको लागि कभर गर्नेछ । यसबाहेक अन्य राहत र स्वास्थ्य सामग्री पनि यही सहयोग अन्तर्गत प्राप्त हुने आईएमएफले जनाएको छ ।

राहत ट्रस्ट मार्फत तत्काल ५० करोड अमेरिकी डलर उपलब्ध हुनेछ । यस किसिमको सहयोगको लागि बेलायतले प्रतिबद्धता जनाएको साँढे १८ करोड डलर र जापानले प्रतिबद्धता जनाएको १० करोड डलर पनि यसअन्तर्गत पर्ने आईएमएफले जनाएको छ ।

चीन, नेदरल्यान्ड लगायतले पनि आईएमएफको कोषमा सहयोगको प्रतिबद्धता जनाएका छन । आईएमएफले सहयोगका लागि विभिन्न मुलुकहरुलाई अपिल समेत गरेको छ ।

सोमबार स्वीकृत सहयोग पाउने २५ देशमा नेपालसहित अफगानिस्तान, बेनिन, बुर्किनाफासो, माडागास्कार, मालावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, सियरा लिओन, सोलोमन आइल्यान्ड, ताजिकिस्तान, टोगो र यमन लगायतका छन । बीबीसी / रासस


ताजा खबर