कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।
उहाँले ४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको( डिस्चार्ज) बताउनुभयो ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्न गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।
अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।रासस