बागलुङकी कोरोना संक्रमित ६५ वर्षिया महिला निको भई घर फर्किनुभएको छ । बागलुङ नगरपालिका ३ गौँडाकोटकी ति महिलामा आज गरिएको चौथो स्वाव परिक्षण नेगेटिभ देखिएपछि धौलागिरी अञ्चल अस्पतालले घर फिर्ता गरेको हो ।
छैटौँँ संक्रमित उहाँमा संक्रमण नभएको पुष्टि भएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि उहाँलाई नुहाईधुवाई गर्न लगाएर अस्पतालले डिस्चार्ज गरेको डा. पोखरेलले बताउनुभएको छ ।
अस्पतालबाट घर फर्किनुभएकी महिलाले आफुले सहज रुपमा कोरोनालाई जितेको प्रतिक्रिया दिनुभएको छ । अस्पतालमा रहँदा डाक्टर, नर्स, छिमेकी लगायतले गरेको सहयोगले आफु निको भएको उहाँले बताउनुभयो ।
चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आउनुभएकी उहाँलाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
अर्की संक्रमित १९ वर्षिय यूवतीको भने चार पटक स्वाव परिक्षण गर्दा पनि नतिजा पोजेटिभ नै आएको छ । ति यूवती पनि धौलागिरी अञ्चल अस्पतालमै उपचार गरिरहनुभएको छ । यूवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टरहरुले यूवतीलाई पनि कोरोना संक्रमण निको हुने अपेक्षा गरेका छन् । रासस