साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।
नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुनासो गदै आएका छन् ।
विगत चार वर्षदेखि साउदीमा कार्यरत पर्वतको बाच्छा स्थायी घर बताउने सुमन थापाले एक महिनादेखि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै समस्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गर्नुभयो ।
गएको एक वर्षदेखि साउदीमा अवैध भएर हार्डवेयर पसलमा काम गरिरहनुभएका उहाँलाई साहुले कामबाट निकालेसँगै बेखर्ची भएर केही दिनदेखि नेपाली साथीको डेरामा आश्रय लिइरहेको दुःखेसो सुनाउनुभयो ।
सफल नेपासँगको सम्पर्कमा उहाँले भन्नुभयो, दूतावासमा धेरैपटक फोन गरे तर रिसिभ नै भएन, खान बस्नै समस्या भएर अहिले साथीकोमा आश्रय लिइरहेको छु, उहाँको पनि कमाइ छैन, बाँच्नै समस्या भएको छ ।
पराजुलीले साउदीमा आफूजस्तै थुप्रै नेपाली श्रमिक काम नभएर समस्यामा भएको गुनासो गर्नुभयो । यता साउदीको दूतावासले भने साउदीमा समस्यामा परेका नेपालीलाई स्रोतसाधनले भ्याएसम्म सहयोग गरिरहेको जानकारी गराएको छ ।