अन्धकारै अन्धकारका बीचमा ,
उज्यालो खोज्न बाध्य छ यो जिन्दगी ।
अशिक्षा र अन्धविश्वासको भुमरीमा,
ज्ञानको ज्योति खोज्न बाध्य छ यो जिन्दगी ।
तिर्खै तिर्खा र चरम प्यासमा,
दुई थोपा पानी खोज्न बाध्य छ यो जिन्दगी ।
भत्केका साँघुरा सडकमा,
लडदै हिड्न बाध्य छ यो जिन्दगी ।
जमिन्दारको ऋण तिर्न,
खाडीमा मर्न बाध्य छ यो जिन्दगी ।
दुई छाक टार्न पसिनाको सट्टा,
रगत चुहाउन बाध्य छ यो जिन्दगी ।
मलाई ठुला ठुला भाषण होइन,
उज्यालोमा बाच्न बत्ति देउ ।
मलाई संघियताका बहस होइन,
पाठ्यक्रमका पुस्तक देउ ।
मलाई तिमीले मिटिंगमा खाने ब्लु लेबेल होइन ,
तिर्खा मेटाउने पानी देउ ।
मलाई तिमी हिड्ने पजेरो होइन ,
बाटो हिड्ने गोरेटो देउ ।
मलाई तिमीले बोकी हिड्ने बडिगार्ड होइन ,
ढुक्कसंग बाँच्न मेरो समाजलाई सुरक्षा देउ ।
मलाई तिमीले लुटेको देशको ढुकुटीको धन होइन,
आत्मनिर्भर हुन इलम गर्ने बाटो देउ ।
मलाई तिम्रो थालको मासु भात होइन,
आफ्नै परिश्रमको चिउरा शान्तिसंग खान देउ ।
मलाई हरपल डर र त्रास मात्र होइन ,
सुव्यवस्था सहितको शासन देउ ।
अब मैले अरु केहि मागेको होइन ,
कमसेकम मलाई शान्तिसंग बाँच्ने वातावरण त देउ ।
डाक्टर पराजुली काठमाडौँस्थित ब्लुक्रस अस्पताल तथा नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमामा कार्यरत हुनुहुन्छ।