सङ्क्रमितको सम्पर्कमा आएका थप तीन जनामा कोभिड-१९ पुष्टि

बारा र पर्सामा थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ५७ पुगेको छ।

तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

बाँकी ४१ जनाको विभिन्न स्थानमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको उनले बताए।

केही दिनअघि वीरगन्जस्थित एउटा अस्पतालमा कार्यरत एक सरसफाइ कर्मचारी र क्वारन्टीनमा बसिरहेका अर्का एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको थियो।

उनीहरूको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर ९४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप तीन जनामा कोरोनाभाइरस देखिएको नारायणी अस्पतालका डा. मदन उपाध्यायले बताए।

तीनै जना क्वारन्टीनमा थिए।

डा. देवकोटाका अनुसार उनीहरू ३१, ४३ र ५७ वर्षीय पुरुष हुन्।

यसअघि वीरगन्जमा आइतवार भेटिएका दुई सङ्क्रमितमध्ये वीरगन्ज इनर्वाका एक पुरुष भारत दिल्लीमा आयोजित एउटा मुस्लिम धार्मिक सभा (तबलगी जमातमा ) सहभागी भएर नेपाल फर्किएको बताइएको छ।

बुधवार कोभिड-१९ पुष्टि भएका तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ। उनीहरू मार्च ६मा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए।

https://www.facebook.com/mohpnep/videos/2932367333512095/

 


ताजा खबर