आज १३१ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

कोभिड–१९ को कारण १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् ।

औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोनाका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले पनि श्रमिकका समस्या समाधान गर्न दबाब दिने उद्देश्यले देशभरका एकाइमार्फत सरकारलाई पत्राचार गरेको जनाएको छ । ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले कोरोना भाइरस सङ्क्रमणपछि नेपालका श्रम क्षेत्रमा भएको परिस्थितिलाई सामाना गर्न स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारलाई पत्राचार गर्ने तयारी गरिएको जानकारी दिए ।

मजदूर आन्दोलन र मे डे

श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।


ताजा खबर