पर्यटन मन्त्री भट्टराईद्वारा प्रदेशगत रुपमा संघीय सांसदहरुसँग छलफल

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७–७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगत रुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गर्नुभएको छ ।

मन्त्री भट्टराईले विहिबार र शुक्रबार गरी १५१ जना सांसदहरुको आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन । शुक्रबार बिहान साँढे १० बजे देखि बेलुका साँढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले सांसदहरुको सुझाव तथा गुनासो सुन्नुभएको हो ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका सांसदहरुको सुझाव तथा राह लिनुभएका मन्त्री भट्टराईले विहिबार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सांसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो ।

प्रदेश न ३ का सांसदरुको भाषा, कला, संस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकास गर्न माग गर्नुभएको छ । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाँडो शुरु गर्न पनि उहाँहरुले आग्रह गर्नुभयो ।

सांसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउन समेत माग गर्नुभएको छ ।

मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउर्दै विगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताउनुभयो ।


ताजा खबर