- भैरब रिसाल
२०१८ सालमा चीनको पहिलो भ्रमण गरेका राजा महेन्द्रले सीमा सम्झौता र अरनिको राजमार्ग निर्माण लगायतको सम्झौता गर्दा कतिपयले अचम्म मानेछन्।
नेपाल र चीनबीचको सम्बन्ध सारै पुरानो हो। राणा शासनकालमा चीनमा बादशाहको शासन छँदाको बखत प्रतिनिधिमण्डल पठाउने लगायतका कार्य भएका थिए। पछि चीनमा गृहयुद्ध आदिका कारण नेपालसँगको मित्रताले निरन्तरता पाउन सकेन। चीनमा बादशाह पद्धति र यता राणा शासनको अन्त्य भएपछि पनि लामो समय दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना हुन सकेन।
चीनसँग नेपालको औपचारिक कूटनीतिक सम्बन्ध राजा महेन्द्रको शासनको शुरुमा १ अगष्ट १९५५ (२७ साउन २०१२ साल) मा मात्रै गाँसिएको हो। पुराना मित्रराष्ट्रबीच दौत्य सम्बन्ध स्थापना भएपछि मित्रता नयाँ चरणमा प्रवेश गरेको हो।
औपचारिक सम्बन्धको ढोका खुलेसँगै द्विपक्षीय भ्रमण आदानप्रदान हुन थाल्यो र आपसी सम्बन्ध अझ सुदृढ बन्दै गयो। चीन भ्रमण गर्ने पहिलो प्रधानमन्त्री टङ्कप्रसाद आचार्य हुन्। ६ असोज २०१३ चीनको भ्रमण गरेका उनले चिनियाँ प्रधानमन्त्री चाउ एनलाईलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
त्यस लगत्तै २०१३ सालकै १२–१६ माघमा चिनियाँ प्रधानमन्त्री चाउले नेपाल भ्रमण गरे। त्यपछि २३ फागुन २०१६ मा विश्वेश्वरप्रसाद कोइरालाले चीनको र २०१७ वैशाख १० मा चिनियाँ प्रधानमन्त्री चाउले दोस्रो पटक नेपालको भ्रमण गरे।
राजा महेन्द्रले १२ असार २०१८ मा चीनको पहिलो भ्रमण गरेका थिए। जुन भ्रमणको क्रममा नेपाल–चीनबीच सीमा सम्झौतामा हस्ताक्षर भयो। यस्तै, अरनिको राजमार्ग निर्माण गर्ने सम्झौतामा पनि हस्ताक्षर भयो। पत्रकारले राजासँग प्रश्न गरेछन्, ‘कम्युनिष्ट चीनसँग सडक निर्माणको सम्झौता ?’
महेन्द्रले बडो रोचक उत्तर दिएका थिए, “कम्युनिष्ट विचारधारा मोटर चढेर आउँदैन।” राजाको त्यो भनाइको विश्वव्यापी चर्चा भएको थियो त्यति वेला।
माओले राजारानीलाई नै भेट्न खोज्दा
महेन्द्र राजा भएपछि चीन भ्रमण गरे पनि वीरेन्द्रले भने युवराजको हैसियतमै २०२३ सालमा भ्रमण गरेका थिए। राजा भएपछि भने चीनका कार्यवाहक राष्ट्रपति तुङ पि उ र प्रधानमन्त्री चाउ एन लाइको निमन्त्रणामा पहिलो पल्ट २०३० मंसीरमा भ्रमण गरे। रानी ऐश्वर्यसहित साताव्यापी भ्रमण गर्न जाँदाको रमाइलो प्रसंग रहेछ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङसँग पनि भेट्ने कार्यक्रम तय गरिएछ। मैले थाहा पाएसम्म अध्यक्ष माओ चीन भ्रमणमा आउने सबै देशको प्रतिनिधि मण्डलसँग भेट्दैनथे। उनले भेट्ने भएपछि त्यो दिनको साँझपखको कार्यक्रम खाली राखिएको हुन्थ्यो। दिउँसो खाना खाइसकेपछि मात्रै पाहुनालाई भेट्ने कार्यक्रम र समयबारे जानकारी गराइन्थ्यो।
भेट्ने समय तोकिए अनुसार राजा वीरेन्द्र माओ भएका ठाउँमा पुगेछन्। तब माओले हँसिलो पारामा राजासँग जिज्ञासा राखेछन्, ‘खोइ त वडामहारानी ? किन एक्लै ?” दोभासे नानीबाट माओको जिज्ञासापूर्ण प्रश्न सुनेपछि राजा वीरेन्द्र र प्रधानमन्त्री चाउ एन लाईले मुखामुख गरेछन्।
राजा वीरेन्द्रले अध्यक्ष माओसँग आफूले मात्र भेट्ने भन्ने बुझेर रानीलाई नल्याएको बताएछन्। माओले रानीसहित भेट्न चाहेको बुझेपछि रानी ऐश्वर्यलाई लिन सम्बन्धित व्यक्तिलाई पठाइयो। एकछिनमा रानी पनि भेटमा सहभागी भइछन्।
अध्यक्ष माओ पाहुनासँग सकभर छरितो गरी भेट्ने रे। प्रायः महिलालाई नभेट्ने रे। त्यही बुझाइ अनुसार प्रधानमन्त्री चाउ एन लाइसँगकै सल्लाह बमोजिम रानीलाई माओसँगको भेटमा नलगिएको रहेछ। चाउ एन लाइ र माओबीचमा त्यस विषयमा कुरो भएको भए यस्तो हुने थिएन।
यो प्रसंगबारे राजाका प्रमुख संवाद सचिव चिरनशमशेर थापाबाट थाहा पाएको हुँ। उनी पनि त्यो भ्रमणको टोलीमा सहभागी थिए।