प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्याय र समानतासहित मुलुकको समृद्ध खोज्ने बाटो नै नेपालको सन्दर्भमा आजको माक्र्सवाद भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कार्ल माक्र्सको २०२ औं जन्मजयन्तीका अवसरमा मङ्गलबार श्रद्धा अर्पण गर्दै भन्नुभयो, “मानव समाजमा न्याय, समानता र श्रमिक वर्गको हितमा माक्र्सले अगाडि सार्नु भएका विचारले एउटा सहश्राब्दीलाई नै प्रभावित पारेको छ ।” उहाँले भन्नुभयो, “त्यसैले चिन्तन, विचार र तीब्र परिवर्तनको सहश्राब्दीका रुपमा विश्व रहेको छ ।”
उहाँले नेपालको सन्दर्भमा माक्र्सवादबारे चर्चा गर्दै भन्नुभयो, “आजको माक्र्सवाद भनेको देशबाट गरिवी हटाउने, जनताको जीवनमा सुख भर्ने, सामाजिक न्याय सहितको समानता कायम गरी मुलुकलाई समृद्ध बनाउने हो ।”
उहाँले यस सहश्राब्दीबाट प्राप्त ज्ञान, विचार र चिन्तनलाई श्रमिक वर्ग र मानव जातिको हितमा सदुपयोग गर्नसमेत सबैमा हार्दिक आह्वान गर्नुभयो ।