संघीय संसदको बर्षे अर्थात बजेट अधिवेशन आजबाट शुरु भएको छ । कोरोना भाइरसको महामारीका बीच आजबाट बजेट अधिवेशन शुरु भएको हो ।
कोरोना संक्रमण हुन सक्ने सम्पूर्ण जोखिमलाई ध्यानमा राखेर उच्च सर्तकर्ताका साथ अधिवेशन शुरु गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकको शुरुमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संघीय संसदको वर्षे अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभयोे ।
बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र पारमाणिक विधेयक २०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्नुभयो ।
यस्तै बैठकमा सभामुख सापकोटाले सभामुख र उपसभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सभाषदहरु मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव र सोमप्रसाद पाण्डेको नाम मनोनयन गर्नुभयो ।
बैठकमा तीन वटा अध्यादेश प्रस्तुत भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले संबैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ प्रस्तुत गर्नुभयो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश-२०७७ पेश गर्नुभयो । रासस