परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छिमेकी मुलुक भारतले नेपालको भुमी प्रयोग गरी दार्चुला–लिपुलेक सडक सञ्चालनमा ल्याएको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको र नेपालको भू–भाग फर्काउन सरकार लागिरहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको राष्ट्रिय हित सर्वोपरी राख्दै कुटनीतिक माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने धारणा रहेको बताउनुभयो ।
उहाँले लिम्पियाधुरमा लिपुलेक र कालापनीसम्मको भूभाग नेपालको हो भन्ने स्पष्टता रहेको बताउदै यस अघि पनि पटक पटक भारतलाई सो विषयमा जानकारी गराइसकेको समेत जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री ज्ञवालीले सिमा विवादबारे वार्ताका लागि नेपाल सरकारको तर्फबाट पत्र पठाइसकेको अवस्थामा जवाफ पठाउनुको साटो मानविय संकटको बेला छिमेकी राष्ट्रको संवेदनशिलतामा दुःख पुग्ने गरी सडक निर्माण भएको बताउदै अब फेरी छिमेकीहरुबाट यस्ता कार्य नहोस भन्न चाहेको बताउनुभयो ।
उहाँले सिमा समस्याका विषयमा सत्तापक्षीय, प्रतिपक्ष लगायत सवै राजनीतिक दलको समान धारणाले सरकारलाई राष्ट्रियताको पक्षमा लड्न अझ बल पुगेको बताउनुभयो ।
बैठकमा सांसदहरु गणेशसिंह ठगुन्न, दिलेन्द्र प्रसाद बडु, महन्थ ठाकुर, सरिता गरि, प्रेम सुवाल, राजेन्द्र प्रसाद लिङ्गदेन, भीमबहादुर रावल, जनार्दन शर्मा गगन थापा, मिनेन्द्र प्रसाद रिजाल, सुरेन्द्र पाण्डे लगायतले छिमेकी मुलुक भारतले नेपालको सिमा मिचेर सडक सञ्चालन गरेको विषयमा कुटनीतिक रुपमा समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँहरुले भारत र चीन दुवै तर्फ नेपालको सिमा मिचियको विषयमा आपत्ती जनाउनु पर्ने बताउनुभयो । रासस