अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पारदर्शी र स्पष्ट दृष्टिकोणका साथ काम गरेमा विवादमा नपर्ने भएकाले मन्त्रालय सोही अनुसार अगाडि बढिरहेको बताउनुभएको छ ।
भोलिदेखि सेवा निवृत्त हुन लाग्नुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीको विदाईका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री डा. खतिवडाले सेवा कुशलताका साथ निर्विवाद भएर कार्य गरेकोमा सचिव सुवेदीलाई धन्यवाद दिनुभयो ।
त्यस अवसरमा सचिव सुवेदीले कर्मचारीले पछि पश्चाताप नहुने गरी काम गर्नुपर्ने बताउनुहुँदै ३६ वर्षे निजामती सेवाको अवधिमा गरेको कामप्रति आफू सन्तुष्ट रहेको बताउनुभयो।
विदाई कार्यक्रममा मन्त्री डा. युवराज खतिवडाले सचिव दीपक सुवेदीलाई कदरपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । रासस