लकडाउन जेठ २० गतेसम्म जारी राख्ने सरकारको निर्णय

सरकारले लकडाउन जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन सरकारले पटक पटक बढाउँदै लगेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि भोलि  सकिँदैछ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ २० गतेसम्म लकडाउन बढाउनुपर्ने प्रस्ताव गरेको थियो । सो समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे तयारी गरेको भए पनि शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकारले लकडाउन लम्ब्याएको एक मन्त्रीले जानकारी दिए ।

शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो । विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएको थियो । जनस्वास्थकर्मीहरूले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।


ताजा खबर