कोरोना विरुद्धको लडाईँ जारी : भ्याक्सिनको दोस्रो सफल परीक्षण

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप पहिलोपटक ८ जना मानिसमा परीक्षण गरिएको छ ।

मोर्डना नामक अमेरिकी कम्पनीले अनुसन्धान गरिरहेको कोरोना विरुद्धको खोपले मानिसको रोग प्रतिरोधात्मक प्रणालीलाई प्रशिक्षित गरी कोरोना भाइरस विरुद्ध लड्ने संकेत पहिलोपटक परीक्षणबाट प्राप्त भएको छ ।

खोप अनुसन्धानमा संलग्न कम्पनी मोर्डनाका अनुसार खोप परीक्षणमा समावेश गरिएका ८ जनामा संक्रमण विरुद्धको एन्टिबडी बनेको भेटिएको जनाएको छ ।

साथै सो खोपले वास्तविक भाइरसबाट संक्रमितको हकमा प्रतिरोधात्मक प्रणालीमा प्रतिक्रिया दिनसक्ने जनाइएको छ । हाल सीमित मानिसमा मात्रै परीक्षण गरिएको छ ।

यस खोपको वृहद परीक्षण भने आगामी जुलाईबाट शुरु हुने अनुमान गरिएको छ । जसले वास्तविक रुपमा संक्रमण विरुद्ध कसरी काम गर्छ भन्ने पत्ता लाग्नेछ । संसारभर कोरोना भाइरस विरुद्धको खोप अनुसन्धान द्रुत गतिमा अघि बढेको छ ।

विश्वभरि ८० वटा समूहहरु खोप अनुसन्धानमा सक्रिय रुपमा लागेका छन् । मोर्डना पहिलो कम्पनी हो जसले कोरोना विरुद्धको mRNA-1273 नामक खोप विकास गरी पहिलोपटक मानिसमा परीक्षण गरेको हो । सो अनुसन्धान अमेरिकाको सरकारी निकाय नेसनल इन्सटिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले गरेको हो । बीबीसी


ताजा खबर