सोमबारको मन्त्रिपरिषदबाट पारित भएको नेपालको नयाँ नक्शा बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ। लिम्पियाधुरा सहित समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।
नयाँ नक्शा भोलि (बुधबार) सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने भएकी हुन्।
नीति तथा कार्यक्रम मार्फत सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेको थियो । २ जेठ बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपछि सरकारले नीति तथा कार्यक्रम, मन्त्रिपरिषद बैठक हुँदै प्रक्रिया अगाडि बढाएको हो।
मंगलबार नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले चाँडै नक्शा सार्वजनिक गर्ने बताएका थिए । बुधबार नयाँ नक्शा सार्वजनिक गर्ने तयारी गरेको सरकारले संविधान संशोधनको प्रक्रिया समेत अगाडि बढाएको छ।
सरकारका उच्च स्रोतका अनुसार, संविधानको अनुसूची–३ मा राखिएको नेपालको नक्शा संशोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको छ।
भारत सरकारले नेपालको भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेपछि नेपालले पनि नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले नक्शा सार्वजनिक भएकाले अब कूटनीतिक तवरबाट भूमि फिर्ता लिने प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
भारतीय पक्षबाट भने विदेश मन्त्रालय प्रवक्ताले महामारीको अन्त्य पछाडि छलफल गर्ने प्रतिक्रिया दिएका थिए । तर, नेकपा सरकारले महामारीको मौका छोपेर अतिक्रमण गरिएकाले तत्काल वार्ताका लागि आह्वान गरेको छ।
गएको नोभेम्बरमा मात्रै भारतले कश्मीर सहितको राजनीतिक नक्शा सार्वजनिक गर्दा नेपालको भूमि अतिक्रमण गरेको थियो । यसबारे छलफल भइरहँदा भारत सरकारले चीनको मानसरोवर जोड्ने सडक उद्घाटन गरेको छ।
नयाँ नक्शा