दसैंका बेला मानिसका हातमा अरू बेलाभन्दा बढी नै पैसा घुमफिर गर्छ । यस समयमा पैसा बैंकबाट मानव समुदायमा वितरित हुन्छ भनिन्छ तर कहिल्यै सोच्नु भएको छ– पैसामा कति फोहोर र हानिकारक जीवहरू होलान् । महाकवि देवकोटाले पैसा वा सम्पत्तिलाई हातका मैलाका रूपमा लिएका थिए ।
हातमा नरहने, चलिरहने, पखालिएर जाने आशयभावमा यसो भनिएको होला । वैज्ञानिक दृष्टिले हेर्ने हो भने हातका मैला पैसामा सरिजान्छ र पैसाको मैलाचाहिँ नपखालिने गरी गडेको हुन्छ ।
पैसा खासमा साह्रै फोहोरी वस्तु हो । सम्झौं न आफ्नो हातमा आएको पैसा कस्ता कस्ता व्यवसाय गर्ने मानिसका हातहातमा घुमेर आइपुगेको होला । मान्छेले सुरक्षित राख्न पैसा कस्ता कस्ता ठाउँमा राख्छन् होला । पैसा शरीर या बाहिर कस्ता ठाउँमा राखिँदोरहेछ भनेर गरिएको एक अध्ययनले देखाएको छ– कतिपयले स्तन छोप्ने कपडा (ब्रा) को भित्रपट्टि, कसैले मोजाभित्र, कसैले गुप्तांग छोप्न लगाइने भित्री लुगाभित्र, कसैले कम्मरमा कपडाले बेरेर राख्ने गरेका छन् । घरमा सुरक्षित राख्नेहरूले कहाँ लुकाउँदा रहेछन् भनेर जान्न गरिएको अध्ययनले भन्यो– भकारीका धानमा गाडेर, स्थान निश्चित गरी माटोमुनि, सिरानमुनि, किताबको चेप आदिमा पैसा राख्दा रहेछन् । यस्ता स्थानहरू सुरक्षित मानिए पनि स्वस्थकर भने होइनन् । ती ठाउँको मैला पैसाले टिपी ल्याउँछ । अनि, पैसालाई प्रिय वस्तु ठानेर चाट्ने, सुँघ्ने, चुम्मा गर्ने पनि गरिन्छ । त्यसो गर्दा उक्त फोहोर र हानिकारक जीवहरू मानिसको शरीरमा आइपुग्छ । साना नानीहरूलाई पैसा खेलाउन दिइन्छ, उनीहरू चुसिरहेका पनि भेटिन्छन् । उनीहरूका जीउमा पैसामा भएका हानिकारक जीवले आक्रमण गरिदिन्छन् ।
मानिसको शरीरको सबैभन्दा फोहोरी अंग हात हो । सोचौं न, हाम्रो हात कताकता जान्छ, केकस्ता चीजहरू छुन्छ, के के गर्छ । सबै मानिसका हात सफा हुन्नन् । सफा भनिएकामा पनि हजारौं किसिमका हानिकारक जीवहरू– ब्याक्टेरिया, प्रोटोजाअन्स, फन्जाई, जुकाका फुलहरू हुन्छन् । यस्तै हातैहात घुम्ने पैसा झन् कति फोहोरी होला ?
विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसका हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाख वटा टुकडी प्रतिवर्ग सेन्टिमिटरमा पाइने गरेको छ । चर्पीमा दिसा गरेर मलद्वार सफा गरी फर्केको मानिसका हातमा त २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् ।
दसैंको समयमा बालबच्चा मात्र होइन, वयस्कहरू पनि यदि बिरामी पर्छन् भने धेरैमध्ये एउटा कारण पैसा वा नोट पनि हो । कसैलाई नयाँ नोटको गन्ध पनि एलर्जीलाग्दो हुन्छ । नयाँ नोटमै पनि फन्जाईहरू जमेका हुन सक्छन् । नोटमा हुने विभिन्न भाइरसमध्ये इन्फ्लुएन्जा लगाउने ह्युमन इन्फ्लुएन्जा भाइरस, रुघाखोकी लगाउने राइनो भाइरस, जन्डिस लगाउने हेपाटाइटिस ए भाइरस, ग्यास्ट्रोइन्टेरोटाइटिस तथा फुड पोइजन गराउने नोरो भाइरस, ग्यासट्राइटिस र अल्सर गराउने अनि पखालाका साथमा वाकवाकी लगाउने रोटा भाइरस पैसामा पाइने भनेर किङ अब्दुलाजिज विश्वविद्यालयका वैज्ञानिकहरूले ठम्याएका छन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हात र नोट नै हो ।
मुख र स्त्री यौन अंगमा चिलाउने र संक्रमण हुने रोग (क्यान्डिडिआसिस) गराउने यिस्ट पैसामा प्रशस्त पाइन्छ । ढुसी, अंकुशे जुका, कोर्रा जुका, फित्ते जुका, गोलो जुकाका फुलहरू कागजका नोटहरूमा पाइएको भनेर विभिन्न वैज्ञानिक पत्रिकाहरूमा लेख छापिएका छन् । दम, फोक्सो र श्वास नलीको संक्रमण गराउने एस्परगिलस पनि पैसामा बसोबास गर्छ । यस रोगबाट संसारमा १ करोड ४० लाख मानिस संक्रमित भएका छन् । रोग गराउने अभियन्ताको प्रमुख संवाहक पैसा नै हो ।
खानामा बिगार पार्ने (फुड पोइजनिङ गराउने), बाहिरी इपिथेलियल तन्तु सखाप पार्ने सेलुलाइटिस रोग लगाउने साथै अन्य मृत्युप्रदायक रोग लगाउने स्टाफाइलोकोकस ब्याक्टेरिया पैसामा बस्छ । पैसाकै माध्यमबाट यी रोगहरू एकबाट अर्कोमा सरेका प्रमाणहरू थुप्रै छन् । पिसाबमा संक्रमण गराउने (यूटीआई), श्वासप्रश्वासमा संक्रमण गराउने (आरटीआई), छालामा संक्रमण गराउने (डर्माटाइटिस) लगायत अन्य धेरै रोग विस्तार गर्ने सिउडोमोनास ब्याक्टेरियाको बासघर हो– पैसा । अस्पतालमा प्रयोग भएका पैसामा क्लेब्सिएला हुन सक्छन् जसबाट निमोनियाँ हुन्छ । यो पनि कागजका नोट, सिक्का र पोलिमरका नोटमा पाइयो । टाइफाइडको कारक जीव सालमोनेला, हैजाको भिब्रिओ कोलेरा अनि ई.कोलीलाई पनि पुराना नोटहरूले बास दिएका छन् । पैसाका माध्यमबाट समेत यी रोगहरू फैलिएका छन् ।
पैसा कति फोहोरी वस्तु हो, यसमा कस्ता जीवाणुहरू बस्दारहेछन् भनेर विश्वमा थुप्रै अनुसन्धानहरू भएका छन् । उनीहरूको ठम्याइले पैसालाई सकेसम्म हातले नछुने उपायहरू खोज्न आवश्यक भएको देखाएको छ । नयाँ सफा नोटमा पुरानामा जति जीवाणुहरू हुन्नन् तथापि जीवाणुरहित भने होइनन् । राष्ट्र बैंकको सन् २०१८ को एक प्रतिवेदनअनुसार ४ खर्ब ५८ अर्ब रुपैयाँ नेपालको बजारमा सञ्चालित छ । जसको ३० प्रतिशत पुराना र फोहोर नोटहरू छन् । जनार्दन लामिछानेलगायतका काठमाडौं विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अनुसन्धानअनुसार सार्वजनिक यातायातका भाडा संकलक (कन्डक्टर) हरूबाट संकलित नोटका नमुनामा सबैभन्दा धेरै फोहोर र रोगका कारक जीवाणुहरू पाइएका थिए । त्यसपछि खाद्य सामग्री बेच्नेहरूबाट लिइएको नोटमा खराबी पाइएको थियो । नास्टका वैज्ञानिकहरू यमी, जोशी र प्रसाईंद्वारा सन् २००७ मा यसै सम्बन्धमा अनुसन्धान गर्न विभिन्न व्यावसायिक क्षेत्रबाट ६३ वटा नोट र सिक्का नमुना संकलन गरिएको थियो । जसमध्ये ९८.४ प्रतिशत ब्याक्टेरिया संक्रमित थिए । सबैभन्दा बढी सिक्कामा, त्यसपछि पोलिमर र अन्त्यमा कागजका नोटहरूमा ब्याक्टेरियालगायतका जीवाणु पाइएको थियो ।
अरू देशमा पनि संक्रमित नोटहरू चलेका छन् । जस्तै: साउदी अरेबियामा ८८ प्रतिशत, प्यालेस्टाइनमा ९६ प्रतिशत, मेक्सिकोमा ६९, कोलम्बियामा ९१, दक्षिण अफ्रिकामा ९० प्रतिशत संक्रमित नोटहरू बजारमा रहेको एक अनुसन्धानले पत्ता लगाएको छ । साथै अमेरिकामा ९४ प्रतिशत, बंगलादेशमा ८०, नाइजेरियामा ८९ र घानामा शतप्रतिशत नोटहरू संक्रमित पाइए । यसको अर्थ यी नोटहरूले मानिसलाई सजिलै संक्रमण गराउँछन् । विभिन्न देशहरूमा सर्भे गरेर म्यारिया जावेदलगायतले प्रकाशन गरेअनुसार सार्वजनिक यातायातका कन्डक्टरहरूका हातमा संकलित शतप्रतिशत पैसा औधी फोहोर र रोग लगाउने जीवहरू भएको भेटियो । दोस्रोमा माग्नेहरूमा (८२ प्रतिशत) र तेस्रोमा दूध बिक्रेतामा (८० प्रतिशत) मा संक्रमित नोटहरू भेटिएको थियो ।
भारतमा विज्ञान तथा औद्योगिक अनुसन्धान केन्द्र (सीएसआईआर) ले यस विषयमा खोजी गरेर प्रतिवेदन सार्वजनिक गर्यो । जसअनुसार संकलन गरिएका नोटहरूमध्ये ७० प्रतिशतमा फन्जाई, नौ प्रतिशतमा ब्याक्टेरिया, १० प्रतिशतभन्दा कममा भाइरस पाइएको थियो । त्यहाँ जम्मा ७८ प्रजातिका रोगका कारक जीवहरू नोटमा पाइएका थिए । पाकिस्तानमा सन् २०१८ मा पैसामा कस्ता फोहोर र संक्रमण गराउने जीव रहेछन् भनेर वैज्ञानिक खोज गर्दा ९७ प्रतिशत नोटमा फोहोर र हानिकारक जीव पाइएछ । हसन इजाजलगायतका अनुसन्धाताले ११ प्रकारका ब्याक्टेरियाहरू पाएका थिए । मूलत: अस्पताल, बिरामी, बिरामीका कुरुवा र बजारबीचमा पैसा घुमफिर गर्दा जटिल रोग लगाउनेसमेत कारक जीव बजार छिर्छन् र विस्तार हुन्छन् । त्यहाँ बहुऔषधि प्रतिरोधक ब्याक्टेरिया पाइएका थिए ।
बर्माको रंगुनमा फ्यु विन नामक अनुसन्धाताले संकलन गरेका नमुनामा दिसाजन्य जीवाणुको संख्या प्रतिनोट २ करोड ९० लाख प्रतिवर्ग सेन्टिमिटरमा भेटिएको थियो ।
सिक्कामा मानिसका हातबाट र भण्डारको फोहोरबाट फोहोर थुप्रिँदै जाने हो । आयु लामो भएकाले सिक्काहरूमा बढ्ता फोहोर जम्नु स्वाभाविक कुरा हो । कागजका नोटहरूको रासायनिक बनावट जीवाणुको उपयुक्त बासस्थान हुने किसिमको छ । किनभने यो ७४ प्रतिशत सेलुलोज (वनस्पति कटन फाइबर) र २४ प्रतिशत लाइनिनले बनेको हुन्छ । साथमा क्ले, टिटानियम अक्साइड्स, तेलीय बनावटमा आधारित संयोजक पनि नोटको अवयव हुन् । देशको होलोग्राम तथा टल्किने रेखाका लागि एलुमुनियम धातु पनि मिसाइएको हुन्छ । प्लास्टिकका नोटहरू नेपालमा खास चलनमा आउन सकेनन्, तीचाहिँ पोलिमरले बनेका हुन्छन् ।
नोटबाट जीवाणु मात्र होइन, लागूपदार्थसमेत स्थानान्तरण भई स्वास्थ्यमा असर पारिरहेको हुन्छ । एउटा अनुसन्धान युरोमा गरिएको थियो । जहाँ शतप्रतिशत नोटहरूमा कोकिनको अंश पाइयो । त्यस्तै तीन प्रतिशतमा हिरोइन । यस्ता वस्तु पैसामा भएपछि यिनले पैसा प्रयोगकर्तालाई कति असर पार्दो हो ।
पैसाबाट हुने संक्रमण चाडपर्वमा वा हातमा धेरै पैसा खेलाउनेहरूलाई त सधैं नै हुने सम्भावना रह्यो । हामीले ख्याल गरेका हुन्नौं तर उल्लिखित रोगहरूबाट बच्ने हो भने पैसालाई आफू सुरक्षित रहेर चलाउनुपर्यो । क्यासियरहरूले वा पैसा संकलकहरूले एकदम सावधानी अपनाउनुपर्छ । त्यसका लागि पातलो पञ्जा, एप्रोन र मास्क लगाउन सकिन्छ । पैसा चलाएपछि तुरुन्त राम्रोसँग हात धुने बानी बसालौं । बढी संक्रमण हुने स्थानहरू जस्तै– अस्पताल, शौचालय आदिमा प्रयोग भएका नोटहरू बाहिर आउन नदिन सटहीको व्यवस्था गर्न सकिन्छ । बालबच्चाहरूलाई पर्वका बेला वा अरू बेला पनि पैसा बोक्न वा खेलाउन नदिऔं । पैसालाई जतनसाथ पर्समा नै वा झोलामा बोक्ने गरौं नकि जीउका गोप्य भागहरूमा । कन्तुरमा राख्दा वा बैंकका भण्डारमा कीटनाशक औषधि हालेर नोट वा सिक्का राख्ने गरौं । नयाँ नोट छाप्न वर्षको झन्डै एक अर्ब रुपैयाँ खर्च हुन्छ, एउटा नोटले पाँच वर्ष जति टिक्ने हो । आर्थिक हिसाबले पनि नोटको जतन गर्नुपर्ने देखियो । सकिन्छ भने पैसाबाट हुने संक्रमण घटाउने धुन मिल्ने नोट बनाउन आवश्यक छ । अब नोटविहीन, डिजिटल पैसाको जमाना भित्र्याउन जरुरी छ । यसो भयो भने पैसाबाट हुने संक्रमणबाट हुने क्षति कम हुने थियो ।
लेखक त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन् ।