ईदुउल फित्रमा घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह

राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पालन गर्दै ईदुउल फित्रमा घरभित्रै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गर्नुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना सङ्क्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गर्नुभएको हो ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ ।

रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।

सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भए पनि घरमै बसेर नमाज पढ्न उहाँले आग्रह मात्रै गर्नु भएन विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।

उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न अनुरोध गर्दै देशको कुनै पनि ठाउँबाट आज चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदुउल फित्रको नमाज आदा गरिने जानकारी दिनुभयो ।

इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन इदउल फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ । आइतबार रमजान महिनाको अन्तिम (३०औँ) दिन हो ।


ताजा खबर