कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप बनाउन क्रियाशिल चीनका अनुसन्धानकर्ता वैज्ञानिकहरुले खोप तयार भएको र यसको प्रभावकारीता जाँच ९९ प्रतिशत सफल भएको बताएका छन् ।
बेलायत स्थित प्रसारण संस्था स्काईले प्रसारण गरेको समाचारमा चीनियाँ वैज्ञानिकहरुले कोरोनाभाइरस विरुद्धको खोपको निर्माण गरिरहेको र त्यो सफल हुने अन्तिम चरणमा पुगेको बताइएको छ ।
चीनको राजधानी बेइजिङ स्थित बायोटेक फर्म सिनोभ्याकमा बनिरहेको खोपको एक हजार जनामा गरिएको दुई चरणका परीक्षण सफल भएको अनुसन्धानमा खटिएकाहरुले बताएका छन् ।
खोप सार्वजनिक गर्नुअघी तेस्रो र अन्तिम चरणको परीक्षण बेलायतमा गर्ने तयारी भइरहेको पनि स्काई समाचारले जनाएको छ ।
सिनोभ्याकले बेइजिङमा व्यवसायिक उत्पादन कारानाखानै निर्माण गर्दैछ जसले खोप बनाउन स्विकृति पाए लगत्तै आम प्रयोगका लागि एक करोड डोज खोप बनाउने तयारी गरेको छ ।
स्विकृति पाएलगत्तै बनाउन शुरु गरिने खोप सुरुवातमा भने स्वास्थ्यकर्मी र जेष्ठ नागरिकहरुलाई दिइने बताइएको छ ।
यसैबीच कोभिड १९ बाट हालसम्म विश्वमा ३ लाख ६६ हजार बढीको मृत्यु भैसकेको छ भने ६० लाख २६ हजार बढी संक्रमित छन् । विगत २४ घण्टामा मात्रै ४ हजार ८ सय बढीको मृत्यु भएको छ ।