सशस्त्र द्वन्द्व चर्किएसँगै नेपालमा पर्यटन आवागमनमा भारी गिरावट आयो । झन् ०५८ मा संकटकाल घोषणा भएपछि त पर्यटकको खडेरी नै लाग्यो । नेपालमा सुरक्षा खतरा छ भन्ने समाचार संसारभर फैलियो । मारमा पर्यो, वन्यजन्तु पर्यटन पनि । त्यतिबेला चरा हेर्ने पर्यटक भुटानतिर गए भने बाघ हेर्ने भारत । ०६२/६३ को जनआन्दोलनपछि द्वन्द्व रोकियो, तैपनि पर्यटकहरू आउन डराइरहे । ०६६–६७ बाट बिस्तारै विदेशीहरू नेपाल घुम्न आए ।
धेरैले भेउ नपाएको तर सत्य कुरा, यसरी नेपालको पर्यटन पुनर्जागृत गर्न गैंडाको प्रमुख भूमिका छ । किनभने, सन् २०१० पछि नेपालमा गैंडाको संख्या बढ्यो । त्यसयता पाँच वर्ष ‘शून्य सिकार वर्ष’ नै मनाइयो, जसले विश्वभर सकारात्मक सन्देश गयो । डब्लुडब्लुएफ नेपालका नायब निर्देशक राजेन्द्र सुवाल भन्छन्, “एकातिर नेपालीहरू गैंडाको संरक्षणमा संवेदनशील भएको देखायो, अर्कातिर पर्यटकमा गैंडाको त सुरक्षा हुन्छ भने हाम्रो पनि सुरक्षा हुन्छ भन्ने भाव पलायो र नेपाल आउन हौसला बढायो ।”
पछिल्लो आठ वर्षमा नेपालले गैंडा संरक्षणमा संसारमै उदाहरणीय काम गरेको छ । केही महिनाअघि नेपाल सरकारले चीनलाई दुइटा गैंडा उपहार दियो । यो ‘गैंडा कूटनीति’ प्रचारका लागि पनि उपयोगी मानियो । गैंडा चितवन राष्ट्रिय निकुञ्जको ‘युनिक सेलिङ प्वाइन्ट’ नै हो । क्षेत्रीय होटल संघ नेपाल, चितवनका अध्यक्ष तथा गैंडा संरक्षण अभियन्ता सुमन घिमिरे भन्छन्, “गैंडा छ, त्यही भएर चितवनको पर्यटन छ ।”
यतिबेला नेपालमा ६ सय ४५ गैंडा छन् । त्यसमध्ये चितवनमा मात्र ६ सय ५ । त्यसैले त, घिमिरे गैंडाका लागि चितवन निर्विकल्प रहेको दाबी गर्छन् । निकुञ्ज छिर्ने शतप्रतिशत पर्यटकले गैंडालाई नजिकबाट नियाल्न पाउँछन् । कहिलेकाहीँ त गैंडा सौराहा बजारमै देखापर्छन् । गैंडा हेर्न देशी/विदेशी पर्यटकको भीड लाग्छ । बीच बजारमा मस्त डुलिरहेको गैंडा हेर्न पाइने दुर्लभ अवसर । घिमिरे अनुभव सुनाउँछन्, “हात्ती सफारीमा ५–७ वटा गैंडा देख्दा पर्यटक बाघ देखेभन्दा बढी उफ्रिन्छन् । गैंडा अनिवार्य देखिनु चितवनको पर्यटनका लागि वरदानसरह हो ।” उनी चितवनलाई प्रचार गर्दा गैंडालाई केन्द्रमा राख्नु उचित हुने सल्लाह दिन्छन् ।
चितवनमा गैंडा संरक्षणले औपचारिकता पाएको हो, ०३० पछि । त्यसअघि पनि गैंडा गस्ती टोली नभएका होइनन् । तर, खास प्रभावकारी हुन सकेका थिएनन् । निकुञ्ज घोषणा भएसँगै गैंडा नै चिनारी बन्यो । यहाँका गैंडासम्बन्धी विदेशी विज्ञहरूले अध्ययन गरे, अनुसन्धानपत्र प्रकाशित गरे, जसले प्रत्यक्ष रूपमा चितवनलाई ‘गैंडा’ को केन्द्र बनाउन भूमिका खेल्यो । जबकि, बर्दियामा एक सय वर्षअगाडि नै गैंडा भएको र गैंडा मारिएको मुद्दा अदालतमा दायर भएको इतिहासमा भेटिन्छ ।
समय यस्तो पनि आयो, यो क्षेत्रमा गैंडाको संख्या शून्य भयो । सन् १९८६ मा चितवनबाट १३ गैंडा बर्दियामा स्थानान्तरण गरेर बर्दिया लगियो । द्वन्द्वकालमा बबई उपत्यकामा मात्र ७० गैंडा मारिए । चितवनबाट सारिएका गैंडासमेत जोगाउन सकिएन । तर, हाल बबई उपत्यकालाई गैंडाका लागि ‘भर्जिन ल्यान्ड’ का रूपमा स्थापना गर्ने प्रयास भइरहेको छ । चितवनपछि गैंडा गन्तव्य बर्दिया नै हो । बर्दियामा हाल २९ वटा गैंडा सहजै देख्न सकिन्छ । शुक्लाफाँटामै गैंडाको संख्या ८ पुगेको छ । तर, फेरि पनि गैंडाका लागि चितवन नै उत्तम थलो हो ।
चितवन निकुञ्ज क्षेत्र मात्र होइन, माडी, नवलपरासीको अमलटारी र सिसवारका होमस्टेमा आकर्षण बढ्नुको कारण पनि गैंडा नै हो । एक दशकअघिसम्म पनि यस क्षेत्रमा गैंडा सिकारले आतंक मच्चाएको थियो । जब गैंडाका कारण पर्यटन बढ्यो, स्थानीयले लाभ पाए, संरक्षण स्वत: प्रभावकारी हुँदै गयो । संरक्षणकर्मी राजु आचार्य भन्छन्, “गैंडाप्रतिको प्रेम बढाउन पनि सरकारले पर्यटनलाई प्राथमिकतामा राख्नुपर्छ ।”
कदाचित चितवनमा प्राकृतिक प्रकोपले गैंडा नष्ट भएमा ‘बिउ’ नमास्न र प्रजनन बढाउन चितवनबाट बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण गरियो । संसारकै नमुना मानिएको यो कदम गैंडा संरक्षणमा उपलब्धिमूलक भएको विज्ञहरू बताउँछन् । ती क्षेत्रमा पनि गैंडाको संख्या थपिँदो छ । पर्यटन व्यवसायी घिमिरे भन्छन्, “संख्या बढाएर गैंडा हेर्ने नयाँ गन्तव्य स्थापित गर्न सकियो भने पर्यटनमा मात्र होइन, संरक्षणमा पनि फाइदा पुग्छ ।” कारण, नेपालमा एकसिंगे गैंडा पाइन्छ, जुन भारतबाहेक अन्यत्र पाइन्न ।
तस्बीर सौजन्यः विश्व वन्यजन्तु कोष (WWF) नेपाल