भारत र चीनबीच सीमाक्षेत्र लद्दाखमा भएको सैनिक झडपमा कम्तिमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ।
सोमबार राती पूर्वी लद्दाखमा भएको हिंसात्मक सैन्य झडपमा एक कर्नेल र दुई जवान सहित तीन जनाको मृत्यु भएको मंगलबार दिउँसो बताइएको थियो। तर साँझ भारतीय सैन्य अधिकारी र विदेश मन्त्रालयका अधिकारीहरूलाई उधृत गर्दै कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
द वासिंगटन पोष्टको अनलाइनले पनि २० जना भारतीय सैनिक मारिएको उल्लेख गरेको छ।
‘लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा कम्तिमा २० भारतीय सेनाको मृत्यु भएको सरकारी स्रोतहरूले जनाएका छन्’, टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले लेखेको छ।
प्रेस ट्रस्ट अफ इन्डिया र द वायर लगायत केही भारतीय अनलाइनले भने १० जनाको मृत्यु भएको जनाएका छन्। बेलायतको द टेलिग्राफले १३ जनाको मृत्यु भएको जनाएको छ। गोलाबारीविना नै भएको झडपमा एक्कासि ठूलो संख्यामा भारतीय सेना मारिएका हुन्।
झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन्। एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ।
पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच हिंसात्मक झडप भएको भारतीय र चिनियाँ सेनाले छुट्टाछुट्टै रुपमा पुष्टि गरेका थिए। छन्। झडपमा चिनियाँ सेनातर्फ पनि हताहती भएको भारतीय सेनाले दाबी गरेपनि चिनियाँ पक्षले यसको पुष्टि गरेको छैन।
आफ्ना २० जना सैनिकको मृत्यु भएपछि भारतीय पक्षले चीन सँगको सीमाक्षेत्रमा ‘अलर्ट’ जारी गरेको छ। लद्दाखको सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।
पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका थिए।
भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ भने चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ।
विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ।
सन् १९७५ पछि पहिलो पटक चीन सँगको सीमा नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको हो। यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाञ्चलको तुलुङलामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।
रासस /टाइम्स अफ इण्डिया