भारत र चीनका सैनिकबीच दुई देशीय सीमाक्षेत्र लद्दाखमा भएको झडपको घटनाका लागि दुवै देशका विदेशमन्त्रीले एकअर्काप्रति दोषारोपण गर्दै फेरि त्यस्तो हुन नदिन सचेत बनाउनु भएको छ ।
घटनाको विषयलाई लिएर भएको टेलिफोन कुराकानीमा भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले चीनले भारतीय भूमिमा संरचना बनाउन शुरुगरेपछि विवाद भएको बताउनुभएको छ भने चीनका विदेशमन्त्री वाङ ईले भारतीय सेनाले पहिला आक्रमण गरेको बताउनुभयो ।
विवादित भूमिको विषयलाई लिएर ४५ बर्षपछि दुई देशका सेनाबीच सोमवार राती झडप भएको थियो । झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । चीनले भने हताहतीको संख्या सार्वजनिक गरेको छैन । टेलिफोन संवादका क्रममा भारतीय विदेशमन्त्री सुब्रमन्यमले विवादित भूमिमा चीनले संरचना बनाउन नहुने तर्क गर्दै त्यस्तो कार्य सच्याउन आग्रह गर्नुभएको विविसीले उल्लेख गरेको छ ।
प्रतिउत्तरमा चीनियाँ विदेशमन्त्री वाङ ईले वस्तुस्थितिको गहन अध्ययन गर्न र अहिले भएको जस्तो घटना नदोहोरियोस् भन्नका लागि सचेतहुन आग्रह गर्नुभएको थियो । तर दुवै विदेशमन्त्रीले अवस्थालाई थप बिग्रन नदिने गरी काम गर्ने प्रतिवद्धता भने जनाउनुभयो ।
टेलिफोन संवाद अघि टेलिभिजन सम्वोधन गर्नुहुदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिनुभएको थियो ।
यसैबीच संयुक्त राष्ट्र संघले भारत र चीन दुबै देशलाई संयमता अपनाउन र विवादको शान्तिपूर्ण समाधान पहिल्याउन भनेको छ । भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति चासो व्यक्त गर्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्रेसले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्नुभएको छ। एएनआई