नेपालमा जुनसुकै पार्टी शक्तिमा आए पनि हामीलाई फरक पर्दैन : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा जुनसुकै पार्टी शक्तिमा आए पनि दुई मुलुकबीचको सम्बन्धमा फरक नपर्ने बताएका छन्।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति सीले शनिबार साँझ नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा सो कुरा बताएका हुन्। सभापति देउवाले चिनियाँ राष्ट्रपति सीलाई उनी बसिरहेकै होटल सोल्टीमा पुगेर भेट गरेका थिए।

‘छिमेकीको रूपमा चीन र नेपालबीच दाजुभाइ र राम्रो मित्रको सम्बन्ध कायम छ,’ राष्ट्रपति सीले भने, ‘हामीलाई कुन पार्टी नेतृत्वको सरकार छ भन्नेमा कुनै चासो छैन, दुई मुलुकबीचको मित्रवत सम्बन्ध स्थिर बनाउन चाहन्छौं।’ चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) नेपाली काङ्ग्रेससँग आपसी सम्बन्ध र सहयोग आदानप्रदान गर्न तयार रहेकोसमेत उनले बताए।

राष्ट्रपति सीले नेपाल–चीन सम्बन्ध विस्तारमा नेपाली काङ्ग्रेसले खेलेको भूमिका चिनियाँ जनताले बिर्सन नसक्ने बताए। उनले नेपाली काङ्ग्रेससँगको पार्टीगत सम्बन्ध पनि ऐतिहासिक रहेको बताए।

सभापति देउवाले चीनसँगको सम्बन्ध नेपाल र नेपालीका लागि महत्वपूर्ण रहेको बताए। उनले नेपालको विकास, सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको प्रयासमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे।

‘एक चीन नीतिमा नेपाल सदैव दृढ छ, र यहाँ चीन विरोधी कुनै पनि गतिविधि हुन दिने पक्षमा छैनौं,’ देउवाले भने। उनले चीनद्वारा प्रस्तावित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई)मार्फत् कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने बताए।

चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रतापूर्ण सम्बन्ध विस्तारका लागि नेपाली काङ्ग्रेस तयार रहेको सभापति देउबाले बताए।


ताजा खबर