चिनियाँ राष्ट्रपति सी स्वदेश प्रस्थान

नेपालको दुई दिने राजकीय भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिन फिङ स्वदेश प्रस्थान गरेका छन् ।

सीलाई विदाई गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी ओलीसहितका नेता विमानस्थल पुगेका थिए ।

सीको विदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत पनि उपस्थित थिए । स्वागतको बेलामा जस्तै विदाइको बेलामा पनि कलाकारहरुले साँस्कृतिक झाँकी प्रदर्शन गरे भने नेपाली सेनाको टोलीले सलामी अर्पण गर्‍यो । विमानस्थल परिसरमा नेपाली विद्यार्थी तथा कलाकारहरुले नेपाल र चीनको झण्डा फहराउँदै सीसहितको चिनियाँ टोलीलाई विदाई गरेका थिए ।

सीको स्वदेश फिर्तीको समयमा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो २ बजेसम्म आन्तरिक तथा बाह्य सबै उडान-अवतरण बन्द गराइएको थियो । यद्यपि विमानस्थल प्रशासनले दिउँसो १ः५० सम्म मात्र उडान अवतरण रोक्ने सूचना जारी गरेको थियो । सी शनिबार काठमाडौं आउँदा पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि साँझ ५ बजेर २५ मिनेटसम्म सबै उडान अवतरण बन्द गरिएको थियो ।

सवारीको समयमा चिनियाँ प्रतिनिधिमण्डल बसेको होटल सोल्टीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक खालि गराइएको थियो । सोल्टीमोड, कालीमाटी, त्रिपुरेश्वर, तीनकुने, थापाथली,माइतीघर मण्डला, बबरमहल, नयाँ बानेश्वर र सिनामंगलसम्म सीको विदाईका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे ।

 


ताजा खबर