भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् । शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो चौबिस घण्टामा थपिएका नयाँ बिरामीसँगै कोरोना सङ्क्रमितको संख्या चार लाख ११ हजार ५०० पुगेको छ । मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र रुसपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र भारत हो । आर्थिक सुधारका लागि लकडाउनका उपायहरु हटाइएदेखि भारतमा कोरोना सङ्क्रमितको संख्या तिब्ररुपमा बढेको छ ।
पछिल्लो आठ दिनमा एक लाख नयाँ सङ्क्रमित थपिएका छन् । त्यसअघि तेस्रो एक लाख बिरामी पुग्न करीब दश दिन लागेको थियो । दोस्रो एक लाख पुग्न १५ दिन र पहिलो एक लाख पुग्न करीब ७८ दिन लागेको थियो पछिल्लो चौबिस घण्टामा भारतमा एक लाख ८९ हजार ८६९ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको छ । परीक्षणमा वृद्धि कोरोनाका नयाँ सङ्क्रमितको संख्या पनि बढ्दै गएको हो ।
भारतको महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभाबित राज्य हुन् । एएनआई