विश्वभर दैनिक दुई लाख कोरोना संक्रमित थपिंदै : भारत विश्वमै धेरै संक्रमित भएको तेस्रो देश

भारतमा कोभिड-१९ संक्रमितको संख्या बढेर विश्वमै धेरै संक्रमित भएको तेस्रो देश भएको छ । विश्वमै धेरै संक्रमित फेला परेको अमेरिका र ब्राजिल पछि भारतमा धेरै संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा २३ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको भारतले संक्रमितको संख्यामा रुसलाई पनि पछाडी छाडेको छ । वर्ल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ६ लाख ९७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ १९ हजार ७०० भन्दा बढीको मृत्यु भइसकेको छ । तर संक्रमणको तुलनामा मृत्युदर भने न्यून रहेको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ बाट विश्वभर संक्रमित हुनेहरुको सङ्ख्या फेरि बढ्न थालेको बताएको छ । जुन महिनाको मध्यतिर पुग्दा संक्रमण र मृत्यु दर निकै तल झरिसकेकोमा जुलाइ महिनामा फेरि बढेको देखिएको छ । देशहरुले जनजीवन सामान्य बनाउदै लगेपछि मानिसहरुको चहलपहल संगै संक्रमितहरुको संख्यापनि ह्वात्तै बढेको छ ।

विश्वमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा पनि संक्रमितको संख्या दुई लाख हाराहारी छ । यसैगरी मृत्यु हुनेको संख्या ३ हजार ५०० माथि छ । हालसम्म मृत्यु हुनेको संख्या भने ५ लाख ३६ हजार भन्दा बढी छ । कूल संक्रमित संख्या १ करोड १५ लाख नाघिसकेको छ । एएनआई


ताजा खबर