मास्क अनिवार्य नगर्ने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमण रोकथामका लागि नागरिकलाई मास्क अनिवार्य लगाउन आदेश नगर्ने बताएका छन्।

अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले विभिन्न राज्य तथा स्थानीय नेतालाई मास्क लगाउन संभव भएसम्म बाध्यकारी व्यवस्था लागू गर्न आग्रह गरेपछि नै ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो। फाउसीले भनेका छन्, “मास्क लगाउनु हामी सबैका लागि महत्वपूर्ण छ र अनिवार्य रुपमा हरेक व्यक्तिले लगाउनै पर्छ।”

तर, अमेरिकामा मास्क लगाउने विषयलाई अति नै राजनीतिकरण गरिएको छ। आफूले कुनै पनि हालतमा नलगाउने बताउँदै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार पहिलोपटक सार्वजनिक स्थानमा मास्क लगाएका थिए।

शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले राष्ट्रिय रुपमा नै मास्क लगाउन अनिवार्य नगर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। मास्क नलगाउने विषयलाई उनले “जनतालाई केही स्वतन्त्रता पनि दिनुपर्ने” बताएका छन्।

अमेरिकामा अहिले पनि झन्डै १९ लाख उपचाररत संक्रमित छन्। मृत्यु हुनेको संख्या एक लाख ४२ हजार नाघिसकेको छ। कूल संक्रमित करीब ३७ लाख ७० हजारमध्ये करीब साढे १७ लाख निको भएका छन्।   


ताजा खबर