डा. कुन्दन अर्याल
भारतका समाचार र तत्कालिक घटनाक्रमसम्बन्धी कार्यक्रमहरू प्रस्तुत गर्ने निजी टेलिभिजन च्यानलहरूका प्रस्तुतिका कारण नेपालमा सम्पूर्ण भारतीय मिडियाप्रति नकारात्मक धारणा झन् झन् बलियो बन्दै गइरहेको छ । दुई देशको जनस्तरको सौहार्दपूर्ण सम्बन्धलाई अझ अगाडि बढाउन चाहने पत्रकार, लेखक, बुद्धिजीवीलगायत सांस्कृतिक फाँटका दुवैतर्फका व्यावसायिक व्यक्तित्वहरू यसबाट चिन्तित भएका छन् । भारतकै कतिपय जायज कुरा गर्ने कुशल पत्रकारहरूले केही वर्षयता सत्ताधारी दल र सरकारले केही समाचार टेलिभिजन च्यानललाई देशभित्र र बाहिर नियोजित सामग्री प्रसार गर्न लगाइरहेको आरोप लगाएका छन् । भारतका निजी टेलिभिजनका अन्तर्वस्तुको नियमन र अनुगमन त्यहाँको सूचना एवं प्रसारण मन्त्रालयबाटै हुने भएकाले त्यस्तो आरोपलाई नसुनेजस्तै गरी पन्छाउनु उपयुक्त हुँदैन ।
टेलिभिजनको जननी बेलायतभन्दा झण्डै चार दशकपछि सन् १९५९ मा भारतमा युनेस्कोको सहयोगमा यस आमसञ्चार माध्यमको सीमित प्रसारण सुरु भएको थियो तर लामो समयसम्म अर्थात् सन् १९९३ को सुरुवातसम्म पनि भारतको टेलिभिजन आकाशमा दूरदर्शन एक्लै थियो । त्यसबीचको अवधिमा टेलिभिजन अहिलेजस्तो सातै दिन चौबीसै घण्टा प्रसारण हुँदैनथ्यो, मानिससँग दूरदर्शनको दर्शन गर्नु बाहेक अरू विकल्प पनि थिएनन् । स्वाभाविक रूपमा त्यसबेला अहिलेको जस्तो अन्तर्वस्तुमा विविधता पनि थिएन । अहिले विभिन्न धर्म र अध्यात्म चिन्तन, खेलकुद र मनोरञ्जनदेखि समाचार र तत्कालिक घटनाक्रममा केन्द्रित टेलिभिजनहरूले व्यापक परिमाणमा दर्शकहरूलाई समेटेका छन् । सुरुसुरुमा नयाँ प्रविधिका रूपमा टेलिभिजनहरूले अभूतपूर्व परिमाणमा दर्शकलाई आकर्षित गरे । समयक्रममा नयाँनयाँ च्यानलले विविध वर्ग, तह र रुचिका दर्शकहाई रुचि अनुसारकै सामग्री पस्किरहेका छन् । साथै विज्ञापन बजारका कारण भइरहेको अन्तर्वस्तुको तीव्र बजारीकरणले पत्रकारिताबाट गरिएका अपेक्षाहरूको समेत बेवास्ता भइरहेको छ । भारतमा पत्रकारिताको एउटा सशक्त माध्यम टेलिभिजनहरूको व्यवस्थित रूपमा दुरूपयोग भइरहेको छ भन्ने टड्कारो दृष्टान्त त्यहाँका कतिपय समाचार च्यानलले प्रस्तुत गरिरहेका छन् ।
सञ्चार माध्यमहरूले देशभित्र र बाहिर पनि सद्भावको प्रसार गर्नुपर्दछ तर कतिपय भारतीय समाचार च्यानल देशभित्रै अफवाह फैलाउने र आलोचनात्मक चेत भएका सार्वजनिक व्यक्तित्वहरूलाई अपमानित गर्ने राज्यनियन्त्रित संयन्त्र बन्न पुगेका छन् । अनि सीमापारि नेपाललगायतका देशहरूलाई निशाना बनाएर तिनीहरू घृणा र अपमानजन्य सामग्रीहरू प्रसार गरिरहेका छन् तर ती टेलिभिजन स्वतन्त्र भने छैनन्, भारतमा सरकारले चाहेको बेला त्यस्ता समाचारमूलक च्यानलहरूमा प्रतिबन्धसमेत लगाउन सक्छ भन्ने कुरा सन् २०१६ को अन्त्यतिर एनडीटीभीमाथि लगाइएको चौबीस घण्टे प्रसारण बन्देजले पनि छर्लङ्ग पारिसकेको छ ।
भारतका टेलिभिजनहरूले मूलतः आफ्ना देशभित्रकै दर्शकहरूका लागि सामग्री पस्कँदै आएका छन् तर भारतीय फिल्महरूजस्तै टेलिभिजनका कार्यक्रम पनि नेपाललगायत कैयौँ मुलुकमा हेर्ने गरिएका छन् । नेपाली दर्शकहरूले यस्ता टेलिभिजनबाट कतिपय बेला अपमानित पनि महसुस गर्दै आएका छन् । वस्तुतः नेपाललगायत आफ्ना छिमेकी देशका राजनीतिक वा मानव रुचिका सामग्री प्रस्तुत गर्दा भारतीय शासकवर्गको हैकमवादी सोच प्रष्ट उजागर हुँदै आएको अनुभव उपभोक्ताहरूले गरेका छन् । खासगरी सन् १९९० को दशकमा निजीक्षेत्रका टेलिभिजन च्यानलको सुरुवात भएपछि भारतका सञ्चार माध्यमहरूले नेपालसम्बन्धी विषयमा बेलाबेला संवेदनहीन र असत्य सामग्री प्रस्तुत गर्न थालेका हुन् । विगतमा लोकतान्त्रिक आन्दोलनका क्रममा भने नेपाली जनताले भारतका त्यसबेलाका मिडिया अर्थात् अखबारहरूबाट आफ्नो आवाज मुखरित गर्ने अवसर पाएका थिए । सन् १९३० को दशकमा रामवृक्ष बेनीपुरीले पटनाबाट जनता साप्ताहिकमा राणा शासनविरोधी सामग्री छाप्ने गर्दथे । त्यस्ता उदाहरण अरू पनि छन् । पञ्चायतकालमा मुम्बईबाट आर के करञ्जियाले ब्लिट्ज साप्ताहिकमा पुष्पलालको विचारलाई महवका साथ प्रसार गरेका थिए ।
भारतीय पत्रकारिताको लामो इतिहास छ । एक समय त्यहाँको पत्रकारिताले महात्मा गान्धीको आदर्शलाई आत्मसात् गर्ने गर्दथ्यो । बेलायती साम्राज्यको अधीनमा रहेकै बेला सन् १७८० मा कलकत्ताबाट निस्किएको जेम्स अगस्टस हिक्कीको दुईपाने साप्ताहिक कलकत्ता जनरल एडभर्टाइजर वा बङ्गाल गजेट नै भारतको पहिलो अखबार थियो, तर सन् १८६८ पछि आफ्नै मौलिकतासहित स्वतन्त्रता आन्दोलनको उपक्रमका रूपमा भारतीय पत्रकारिताको उदय भयो । त्यसक्रममा भारतीय पत्रकारिता साम्राज्यवाद विरोधी र पक्षधर खेमामा विभक्त हुन गयो । सन् १९१५ मा गान्धी भारत फर्किए । त्यसपछि सन् १९१९ देखि उनले योङ इन्डिया, हरिजनजस्ता पत्रिका निकाल्न थाले । त्यसैले त्यो बेलादेखि सन् १९३७ सम्मको कालखण्डलाई भारतीय पत्रकारिताको इतिहासमा गान्धीको युग मानिन्छ । उनको नेतृत्वमा क्रान्तिकारी भारतीय प्रेसको प्रभाव बढ्दै गयो । त्यस कालखण्डमा भारतीय पत्रकारिता उनकै प्रभाव र आदर्शमा अघि बढ्यो । त्यसबीचको अवधिमा भारतीय प्रेस गान्धीको सन्देशबाट सिञ्चित थियो र पत्रकारितामा पनि उनको नेतृत्व निर्विवाद थियो । हिन्द स्वराज नामक पुस्तिकामा उनले पत्रकारिताको तीनवटा उद्देश्य प्रस्तुत गरेका छन् । उनका अनुसार पत्रकारिता वा त्यसबेलाको समयमा अखबारको पहिलो उद्देश्य जनमतलाई राम्रोसँग बुझ्नु र अभिव्यक्त गर्नु नै हो । अर्को उद्देश्य, जनताको अपेक्षा वा भावनालाई मुखरित गर्नु हो । तेस्रो उद्देश्य, निर्भीक ढङ्गले शक्तिमा रहेकाहरूको गलत कामलाई भण्डाफोर गर्नु हो ।
तर आजको भारतका सरकारनिकट टेलिभिजन च्यानलहरूले न सहिष्णुता, सद्भाव, समानताजस्ता संविधानका आधारहरूको सम्मान गरेका छन्, न जनमतलाई मुखरित गरिरहेका छन् । भारतीय पत्रकारितामा निर्भीकतापूर्वक सरकारको आलोचना गर्न सक्ने तागत नभएको ठहर त्यहीँका व्यावसायिक पत्रकारहरूले गरिरहेका छन् । भारतको संविधानको धारा १९ (१९) (क) ले वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । त्यहाँको सर्वोच्च अदालतले त्यसै अन्तर्गत मिडियाको स्वतन्त्रता पनि पर्ने व्याख्या गरिसकेको छ, तर कुनै बेला गान्धीको आदर्श आत्मसात् गर्ने भारतीय मिडियाले यतिखेर सरकारको आलोचना गर्दा खतराको सामना गर्नुपर्ने अवस्था छ । खासगरी केही टेलिभिजन च्यानल सत्ताधारी वर्गको निहित स्वार्थ पूरा गर्न नियन्त्रित रूपमा सञ्चालन भइरहेका छन् । देशभित्र अल्पसङ्ख्यक समुदाय वा सरकारका आलोचक व्यक्ति ती च्यानलहरूको निशानामा परेका छन् भने सीमापारि छिमेकी राष्ट्रलाई होच्याएर मनोवैज्ञानिक त्रास फैलाउने दुष्प्रयास पनि तिनै च्यानलले गरिरहेका छन् ।
भारतका निजी समाचार च्यानलको कपोलकल्पित अन्तर्वस्तुका कारण गएको साता नेपालमा कडा प्रतिक्रिया उत्पन्न भएको थियो । त्यहाँको सूचना तथा प्रसारण मन्त्रालयको संयोजनमा गृह र रक्षालगायत विभिन्न मन्त्रालयका प्रतिनिधि सम्मिलित संयन्त्रले समेत समाचार र तत्कालिक घटनाक्रमसम्बन्धी सामग्रीको अनुगमन गर्दै आएको छ । यस्तो अवस्थामा छिमेकी राष्ट्रहरूप्रति निशाना साँधेर तयार गरिने सामग्रीहरूका लागि भारत सरकार नै जिम्मेवार छैन भन्न मिल्दैन । पत्रकारिताका मूल्य, मान्यता र स्वच्छताको सिद्धान्तविपरीतका सामग्रीको उत्पादन गर्ने ती टेलिभिजन च्यानलका सम्बन्धित सञ्चारकर्मी सरकारी वृत्तबाट प्रभावित हुने गरेको प्रष्टै अनुमान गर्न सकिन्छ । केही भारतीय पत्रकारले यस विषयमा विस्तारपूर्वक लेखेका पनि छन् ।
केही समस्या ती टेलिभिजन च्यानलका सञ्चारकर्मीहरूको सामाजिकीकरणमा पनि छ । निजी टेलिभिजनको साझा संस्था नेसनल ब्रोडकास्टिङ एसोसिएसनका उद्देश्यहरूमा छिमेकी देशको संवेदनशीलताको कदर गर्न प्रेरित गर्ने विषयवस्तु नै छैन । उक्त एसोसिएसन अन्तर्गतको अर्को स्वतन्त्र निकाय नेसनल ब्रोडकास्टिङ स्टान्डर्ड एसोसिएसनले उपभोक्ताहरूको उजुरी लिने व्यवस्था पनि गरेको छ । साथै उक्त संयन्त्रले च्यानलहरूका लागि आचारसंहिता पनि जारी गरेको छ, तर अर्को आश्चर्यको कुरा के छ भने तीमध्ये एउटा बुँदामा पनि छिमेकी देशहरूको संवेदनशीलताको विषयलाई समेटिएको छैन । सीमापारिका मानिस वा छिमेकी देशलाई नै शत्रु ठानेर घटना वा अवस्थालाई तोडमोड गरी कुत्सित उद्देश्यका साथ तयार गरिएको सामग्री महŒवका साथ प्रस्तुत गर्ने च्यानलका पत्रकारहरू पञ्चशील वा शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तको वास्ता गर्दैनन् । उनीहरूको आचारसंहिताले पनि त्यस दिशामा अग्रसर हुन उनीहरूलाई प्रोत्साहित गर्दैन ।
वस्तुतः भारतका निजी टेलिभिजन च्यानललाई व्यावसायिक सामाजिकीकरणको पर्याप्त अवसर नै उपलब्ध छैन । त्यसैले तिनीहरूको प्रस्तुति अति अपरिष्कृत छ । ती टेलिभिजनहरू छिमेकी राष्ट्रका राजनीतिक घटनाक्रम वा अन्य विषयलाई किन समेटिरहेका छौँ भन्नेमा नै प्रष्ट छैनन् । अहिलेको युगमा प्रोपागाण्डा वा दुष्प्रचारकै लागि हामी सामग्री तयार गरिरहेका छौँ त तिनीहरूले पनि भन्न सक्दैनन् । तर तिनीहरूको आचारसंहिताले समेत छिमेकी राष्ट्रहरूको सुसम्बन्धका विषयमा ध्यान पुर्याएको भने देखिँदैन ।
अर्याल त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ ।