आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण देशभरका नदीको जलसतह बढेको छ। आज र भोलि प्रमुख तथा सहायक नदीहरुमा जलसतह खतराको आसपास आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
५ र ६ साउनमा (आज र भोलि) कन्काई, कोशी, कमला, बागमती, नारायणी, बबई र पश्चिम राप्ती लगायत नदीमा बाढीको उच्च जोखिम छ। यसबाहेक प्रदेश १, २ बागमती र गण्डकीका सहायक ननदी तथा खोलाहरुमा पनि आकस्मिक बाढी आउनेछ।
कर्णाली र सुदूरपश्चिम भएर बग्ने नदीहरुमा भने मध्यम बाढीको सम्भावना भएको महाशाखाले जनाएको छ। ती नदीमा भने जलसतह सतर्कता विन्दु आसपास पुग्नेछ।
महाशाखाले आज नारायणी नदीमा बाढीको उच्च जोखिम भएको जनाएको छ। यी सबै नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
६ साउनमा कन्काई, कमला, बागमती, पश्चिम राप्ती, तिनाउ, मोहना लगायत नदी र सहायक नदीमा जलसतह खतराको विन्दु आसपास पुग्नेछ।
२४ घन्टाको वर्षा जनाउने चित्र। रातो रङ जोखिम र पहेँलो रङ सतर्कता विन्दु पार।
श्रोतः मौसम पूर्वानुमान महाशाखा