नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ ।
महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो । सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् ।
मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो ।
केही दिन पहिलेदेखि काठमाडौँ उपत्यकालगायतका शहरमा केही सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । देशभरमा अधिकांश सवारीसाधन भने सञ्चालनमा छैनन् ।
कोभिड-१९ को सङ्क्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको यातायात व्यवसायीको भनाइ छ । रासस