मिथिलाको मधुश्रावणी पर्व धूमधामका साथ सकियो

मिथिलाञ्चलसहित तराई मधेसका जिल्लाहरूमा नव विवाहित कन्याहरूले धूमधाम तथा हर्षोल्लासका साथ मनाइने मधुश्रावणी पर्व आज सकिएको छ ।

करिब १५ दिनसम्म चलेका मधुश्रावणी पर्वको अन्तिम दिन नव विवाहित ब्रतिकन्याले विशेष प्रकारको पूजा गरेर पर्वको कथा सुनि समापन गरेका छन् ।

मिथिलाको ग्रामीण क्षेत्रमा यस पर्वको समापन भएका कारणले आजको दिन विशेष चहलपहल हुने गर्दछ । यस दिन श्रीमान् पक्ष अर्थात् ससुरालीबाट आएका पूजा सामाग्रीहरू, प्रसाद, कपडा तथा गरगहना लगाएर श्रीमान्सँग आँगनमा बसेर मधुश्रावणी सम्बन्धी कथा कताइनसँग सुनेर शिव पार्वती तथा नागदेवताको पूजा विधिपूर्वक गरेर समापन गरिएको छ ।

यसका साथै ससुराली पक्षबाट आएका कोसेलीहरू वितरण गर्ने तथा भोज खुवाउने चलन रहेका छन् । यस पर्वको अवधिभरिमा व्रती नव विवाहित कन्याले साँझ समूहमा भेला भएर मिथिलाका परम्परागत सांस्कृतिक गीतहरू गाउँदै गाउँ तथा नगर नजिकको सार्वजनिक उद्यान तथा फूलबारीमा फूल टिपेर ल्याउने र त्यही बाँसी फुलबाट बिहान पूजा गर्ने चलन रहेको छ ।

यस पर्वको पूरा अवधिमा नव विवाहित कन्याले ससुराली पक्षबाट आएका खाद्यान्न सामाग्रीहरू खाने तथा गरगहना, लत्ता कपडा लगाउने गरेको हुन्छ । अन्तिम दिन विशेष प्रकारले कथा सुनेर नुनरहित खाना खाने चलन रहेको छ ।

मधुश्रावणी पर्व साउन महिनाको कृष्ण पक्ष मौनी पञ्चमी तीथिबाट सुरु भएर शुक्ल पक्ष तृतीया तिथिका दिनसम्म चलेको थियो । यो पर्व गर्नाले श्रीमान्को आयु बढ्ने तथा अपासी स्नेह बढ्ने जनविश्वास रहेको छ ।

खास गरेर यो पर्व मिथिलामा बसोबास गर्ने मैथिली बाहुन सोना, लोहार कायस्थ जातिका नव विवाहित कन्याले मनाउने गरेका छन् । सांस्कृतिक तथा धार्मिक महत्त्वको मधुश्रावणी पर्वले पारिवारिक मिलनमा ठुलो योगदान दिइएको छ ।


ताजा खबर