डा. सनतकुमार वस्तीका गजलहरु

गजल १

बाग यस्तो कुनै जिन्दगी भैदिओस्
फूल झर्दा पनि मग्मगी भैदिओस्

टिप्न ता टिप्दछौं फेरि यस्तो नहोस्–
भोलि नै फूल यो गन्दगी भैदिओस्

फूल झैं होस् महक जून झैं होस् चहक
प्यार दिलमा फगत् सादगी भैदिओस्

यार ! तारीफ गर्छन् उनी यस्तरी–
त्यो प्रशंसा नहोस्, दिल्लगी भैदिओस्

भन्छ दिल ए ‘सनत’ ! अब त यो जिन्दगी
जिन्दगी हैन, आबारगी भैदिओस् !

० ० ०

गजल २

ओठ तिम्रै गजल गुनगुनाई रहोस्
जत्ति बिर्से पनि याद आइरहोस्

यस्तरी घन्कियोस् प्रेमको बाँसुरी
दुःख–पीडा भुली मन रमाइरहोस्

मन्द मुस्कान होस् या नहोस् ओठमा
नेत्र प्रमाश्रुले छलछलाइरहोस्

हार नै होस् सही प्यारको खेलमा
दिल हजुरकै सदा जय मनाइरहोस्

रातले जूनझैं गीतले धून झैँ
जिन्दगीले सधैं प्यार पाइरहोस् ।


ताजा खबर