अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले कसैको प्रभावमा नपरी निष्पक्ष भएर काम गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले सबैको सहयोगमा भ्रष्टाचार नियन्त्रणका लागि आयोगलाई अझै बलियो बनाएर लैजानुको विकल्प नभएको बताउनुभयो ।
प्रमुख आयुक्त घिमिरेले नीतिगत र संस्थागत रूपमा विकास हुँदै गइरहेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको समन्वयात्मक र एकीकृत पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भ्रष्टाचार निवारणका लागि पद्धति र नीति मुख्यरूपमा रहेको भन्दै भ्रष्टाचार न्यूनीकरणका लागि कानून नै बलियो रूपमा आउनुपर्ने र संसद्मा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमार्फत आयोगलाई अझै बलियो बनाइनु पर्ने उल्लेख गर्नुभयो ।
आयुक्तद्वय डा गणेशराज जोशी र डा सावित्री गुरुङले आयोगले भ्रष्टाचारबाहेक अरू विषय नहेर्ने भएकाले नीतिगत रूपमा हुने भ्रष्टाचारदेखि सबै विषय समाधान गर्न अख्तियारलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएको भनिए पनि दिनानुदिन बढिरहेको, नीतिगतरूपमा भ्रष्टाचार हुने गरेको, पहुँचवाला र ठूलो रकम हिनामिना गर्ने भ्रष्टाचारीलाई अनुसन्धाकै दायरामा ल्याउन नसकेको भनी आयोगका पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
संस्थागतरूपमा नै विकास भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कानूनको आवश्यकता औल्याउँदै उहाँहरुले आयोगलाई राजनीतिबाट मुक्त गरी स्वतन्त्र र निष्पक्ष बनाइनुपर्ने सुझाव दिनुभएको थियो । रासस