थप छ सय २६ जना कोरोना मुक्त भए : एक सय ३९ जनामा सङ्क्रमण पुष्टि, मृतकको संख्या ४८ पुग्यो

आज थप छ सय २६ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट छ सय २६ जना सङ्क्रमण मुक्त भएसँगै सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या १३ हजार सात सय ५४ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हालसम्म ७३ दशमलव ३५ प्रतिशत कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

यसै गरी आज देशका विभिन्न स्थानमा रहेका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण्मा एक सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हाल देश भरी सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ५० जना रहेका छन् ।

सक्रिय सङ्क्रमितहरू प्रदेश नं. १ मा एक सय ९५ जना, प्रदेश नं. २ मा एक हजार नौ सय ११ जना, वाग्मती प्रदेशमा चार सय दुई जना, गण्डकी प्रदेशमा दुई सय ४४ जना, प्रदेश नं. ५ मा तीन सय ५३ जना, कर्णाली प्रदेशमा तीन सय ७५ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ७ सय ४० जना रहेको प्रा. डा. गौतमले जानकारी दिनुभयो ।

यसै गरी कोरोना भाईरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएसँगै सङ्क्रमण पुष्टि भई मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

सङ्क्रमणबाट पर्सा जिल्ला विरगञ्ज महानगरपालिका १० का ६५ वर्षीय पुरुष,धनुषा जिल्ला सहिन नगर नगरपालिका ८ का ३६ वर्षीय पुरुष र बारा जिल्ला फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा आज १६ हजार ३ सय ७९ जना रहेको मन्त्रालयले जनाएको छ ।


ताजा खबर