अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको शिकागोमा बुधवार मृत्यु भएको छ । शनिवार चार्ल्स कन्वेलसँग दशौं चरणको खेलमा टाउकोमा मुक्का बजारिएपछि मस्तिष्कमा आघात पुगेर उनको मृत्यु भएको हो ।
२७ वर्षीय डे कोमामा चार दिन परेका थिए । नर्थवेस्टर्न मेमोरियल हस्पिटलमा आकस्मिक मस्तिष्क सर्जरी गरेपनि चिकित्सकहरूले डेलाई बचाउन सकेनन् ।
कन्वेलले एकपछि अर्को पन्च हानेपछि डेलाई गम्भीर चोट लागेर हलचल गर्न सकेका थिएनन् र स्ट्रेचरमा राखेर उनलाई अस्पताल कुदाइएको थियो ।
व्यावसायिक बक्सर बन्नुअघि डेले दुईवटा राष्ट्रिय पुरस्कारका साथै अन्य धेरै पुरस्कार जितेका थिए ।
उनी सन् २०१३ मा व्यावसायिक बक्सर बनेका थिए ।
गत जुलाई महिनामा २३ वर्षीय अर्जेन्टिनी बक्सर ह्युगो सान्टिलानको भिडन्तकै क्रममा मृत्यु भएको थियो । त्यसको दुई दिनअघि रुसका म्याक्सिम दादाशेभ पनि भिडन्तका क्रममा मस्तिष्कमा चोट लागेको कारण ज्यान गुमाउन पुगेका थिए ।
एजेन्सी