नेपालमा अहिलेको अवस्था कायमै रहे समूदायमा कोरोना फैलनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सावधानीका उपाय अपनाउन आग्रह गरेको छ।
नेपालका लागि विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) का प्रमुख डाक्टर जोस भ्यान्डेलेअरले समुदायमा फैलन नदिन आम नागरिकको भूमिका अहम् रहेको बताउनुभएको छ । उहाँले आम नागरिकलाई स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न र हेलचक्याईँले समुदायमा कोरोना फैलन सक्छ भन्ने तर्फ सचेत हुन पनि आग्रह गर्नुभएको छ ।
नेपाल टेलिभिजनसँगको विषेश अन्तर्वार्ताका क्रममा डाक्टर भ्यान्डेलेअरले समुदायमा फैलियो भने कोरोना नियन्त्रणमा थप जटिलता देखिने पनि उल्लेख गर्नुभयो । कोरोना नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण कार्य भनेकै कन्ट्राक्ट ट्रेसिङ हो भन्नुहुँदै डाक्टर भ्यान्डेलेअरले समुदायमा कोरोना फैलनासाथ कन्ट्राक्ट ट्रेसिङको काम सबैभन्दा कठिन हुने अनुभव समेत सुनाउनुभयो । र यसका लागि नागरिक र स्थानीय तहको सहयोग एवं समन्वयकारी भूमिका अत्यन्तै जरुरी भएको उहाँको भनाइ थियो ।
त्यसैले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइकासाथ पालना गर्न र जनस्तरमा सचेतनाका कार्यक्रम संचालन गर्न उहाँले सुझाव दिनुभएको छ।
महामारी नियन्त्रणको बिषय विश्वलाई नै नयाँ अनुभव भएको भन्नुहुँदै डाकटर भ्यान्डेलेअरले नेपाल सरकारले कोरोना नियन्त्रण र संक्रमितको उपचारमा देखाएको तदारुकताको प्रसंशा समेत गर्नुभएको छ।
साथै केन्द्रिय सरकार र स्थानीय सरकारबीच समन्वय गरी काम गर्न सके अझै पनि समुदायमा फैलने अवस्थाबाट रोक्न सकिने डाक्टर भ्यान्डेलेअरले बताउनुभएको छ ।