‘साहित्यको सबै विधामा कलम चलाउन सक्छु’ : आख्यानकार राजन मुकारुङ

आख्यानकार राजन मुकारुङका पाँच वटा कविता संग्रह आइसकेका छन् । सृजनशील अराजकता आन्दोलनका अभियान्ता राजन मुकारुङ पछिल्लो समय पारिवारिक लफडामा पनि परे । उनको साहित्यिक आन्दोलन, निजी जीवन र लेखनको सेरोफेरोमा गरिएको सफल  कुराकानीको सम्पादित अंश :

तपाईं आख्यानमा सफल हुनुभयो । तर, श्रवण मुकारुङ, भुपाल राईको तुलनामा तपाईंलाई असफल कवि भनिन्छ । फेरि कवि हुने प्रयास किन गर्नुभएको ? 

प्रायः आमलेखकको यात्रा कविताबाटै सुरु हुन्छ । को, कवितामा कति टिक्छ, त्यो उसमा नै भर पर्ने कुरा हो । मैले चारवटा कविता संग्रह ल्याइसकेपछि उपन्यासमा प्रवेश गरेँ । कवितामा सफल, असफल एउटा ठाउँमा होला । जुनवेला हामी कविता लेख्थ्यौँ त्यो वेला कविता होइन, उपन्यास नै पनि चल्दैन थियो । विमोचनको दिन एक प्रति पनि बिक्री हुँदैन थियो । आफैंले छापेर विमोचनको दिन बाँड्नु पर्थ्याे  ।

यतिवेला म कवितामा राइफाँडो नै लाउँछु भनेर आएको होइन । मेरो सीधा कुरा छ । यतिवेला नेपालमा कम्युनिष्टको दु्ई तिहाई सरकार छ । जसले प्रगतिशील विचारधारा लिन्छ, त्यो सत्तामा छ । अब उसको प्रतिपक्ष चाहिँ को हो त ? कांग्रेसबाट सम्भव नै छैन । यो वेला हामीले कविताको माध्यमबाट बोलियो भने अरू साथीहरूलाई पनि तागत आउँछ कि । कविता छिटो सम्प्रेषण हुने विधा हो । एउटा उपन्यास लेखिसक्नु यत्तिकै समय लाग्छ, पढिसक्न पनि उत्तिकै समय लाग्छ । कविताबाट चाहिँ छोटो समयमा छिटो आक्रमण गर्न सक्छौं । जहाँ टार्गेट गरिएको हो, त्यहाँ भन्न सक्छौं । यसपटक प्रतिपक्ष आवाजका लागि कवितासंग्रह ल्याएको हुँ ।

आख्यानमा पनि काव्य हुन्छ । त्यसबाट पनि प्रतिपक्षी अवाज उठाउन सकिन्छ । आख्यानमा काव्यिकपन दिन नसकेर कविता लेख्नुभएको हो र ? 

मेरो कमजोरी के हो भने मेरो आख्यानमा पनि समस्या छ र कवितामा पनि छ । जब कविता लेख्न थाल्छु, आख्यान सोच्न थाल्दो रहेछु । जब आख्यान लेख्न थाल्छु, कविता सोच्दो रहेछु । आख्यानमा कविताको लाइन गइदिँदा पाठकलाई गाह्रो भइदिने । कवितामा आएपछि आख्यान सोच्न थालिँदो रहेछ । अनि कविता आख्यानजस्तो लेखिदिने । यो पहिले देखिकै समस्या हो । एउटा स्टोरी पुरा हुनैपर्ने कवितामा । नत्र मलाई मजा नलाग्ने । अरूकोेमा पनि त्यही खोज्ने । मेरो आख्यान र कविता दुवैमा समस्या छ ।

राजन मुकारुङ सफल आख्यानकार हुँदै गर्दा कविता लेख्नु आफ्नै लेखनप्रतिको असन्तुष्टि हो कि ? 

कुनै पनि विधामा म आफू असन्तुष्ट हुदिनँ । चाहे मैले नन–फिक्सन लेखु, या निबन्ध । नाटक नै किन नलेखुँ । कुनै पनि विधामा म कमजोर छु भन्ने लाग्दैन । तर, कतिपय अवस्थामा आख्यानमा भन्न नसकिने कुरा कविताबाट भन्नुपर्छ । कवितामा भन्न नसकिने कुरा आख्यानमा भन्नुपर्छ ।

पछिल्लो समयका कविहरूको क्राफ्ट गज्जबको छ । तर, इस्युप्रतिको चासो कम छ । उनीहरू डराउँछन्, कसैले बायस गर्ला कि, मेरो अस्तित्व आउँदा आउँदै सिध्याइदेला कि भनेर । यो डरले क्राफ्ट राम्रो हुँदाहुँदै कविहरू इस्युबाट भागेका छन् । उनीहरूलाई नडराउँदा हुन्छ भन्नका लागि पनि इस्यु उठाएरै कविताहरु लेखेको हुँ ।

पहिचानको आन्दोलनमा दुई दशक बिताउनुभयो । अहिले पनि आफ्नै मुद्दामै अडिग हुनुहुन्छ । तर, ०७०-०७१ पछि अहिले सो मुद्दा त सुस्ताएको छ । अब तपाईंहरुको आन्दोलन कसरी बढ्छ ? 

पहिचानको मुद्दालाई हामीले नेपाली सांस्कृतिक जीवन प्रक्रिया या मानकहरूबाट हेरेर न्याय हुुन्न । कुनै पनि आन्दोलन तलमाथि भइरहन्छ । तर पहिचानको आन्दोलन कुनैवेला त्यो राष्ट्रिय राजनीतिमा पनि देखापर्छ, त्यो निकै पछाडि पनि जान्छ । यो संसारभर चलेर आएको र देखिएको आनदोलन हो ।

विकासको माथिल्लो चरणमा पुग्दै गर्दा पनि कसै न कसैले पहिचान खोज्छ, आन्दोलन उठेर आउँछ । नेपालमा पहिचानको आन्दोलन जातिको मात्र छैन । कम्युनिष्टहरुले समाजवाद र साम्यवादको परिकल्पना गर्दै जाँदा जातिको पहिचानको नाममा त केही हुने छैन । तर नेपालमा किन यति धेरै कम्युनिष्ट फुटे भने त्यो व्यक्तिका रूचिले होइन, नेपाली समाजको विविधतालाई अंगालेर आउँदा चाहिँ फुटेको हो । त्यो राई छ, त्यता पनि सोच्नुपर्छ भनेर फ्याट्ट कसैले दस्तावेजमा लेखी पठाउँछ । त्यहीँ विमति सुरु हुन्छ । यसरी बहस सुरु हुँदा कम्युनिष्ट पार्टी फुटेर गए । त्यो नेपाली समाजको विवधताको कारणले हो । र पहिचानको आन्दोलन त्यसरी नै उठ्ने हो ।

पछिल्लो समयका कविहरूको क्राफ्ट गज्जबको छ । तर, इस्युप्रतिको चासो कम छ । उनीहरू डराउँछन्, कसैले बायस गर्ला कि, मेरो अस्तित्व आउँदा आउँदै सिध्याइदेला कि भनेर । यो डरले क्राफ्ट राम्रो हुँदाहुँदै कविहरू इस्युबाट भागेका छन् । उनीहरूलाई नडराउँदा हुन्छ भन्नका लागि पनि इस्यु उठाएरै कविताहरु लेखेको हुँ । 

पहिचानको आन्दोलन संसारमा सकिने आन्दोलन होइन । कहिले यसको स्वर सानो हुनसक्छ, कहिले ठूलो । कतिवेला मानिसको मस्तिष्क रडकिन्छ, त्यो वेला भंगालोमा उठ्ने हो । नेवारहरूको देखिएन त ? सरकारले गुठी विधेयक फिर्ता लिएपछि पनि देखायो । कतिवेला दिमाग एकीकृत हुन्छ, त्यतिवेला उग्र हुने हो यो आन्दोलन । तर सुती गरी खानुपर्छ छाडिदिउँ भन्दा ब्याकमा जान्छ आन्दोलन । त्यतिवेला टाठाबाठाले गरिखान्छ ।

तेस्रो आयाम,लीला लेखन हुँदै गर्दा सृजनशील अराजकता आन्दोलन लिएर आउनुभयो । पछि रंगवाद, उत्तरवर्ती, उन्मुक्त पुस्ता, कुकुर कविताजस्ता आन्दोलन पनि जन्मिए । त्यसमा थोरबहुत पहिचानकै कुरा आएको देखिन्छ । राजन मुकारुङहरूको आन्दोलनप्रतिको असन्तुष्टिले अरु जन्मिएका हुन् ? 

असन्तुष्टि भन्ने कुरा हुँदैन । समयको अवधिले पनि मानिसलाई अलिकति फरक बनाउँछ । जस्तो बीसको दशकमा सोचिने सोच या बनोट र चरित्र तीसको दशकमा आउने पुस्तासँग मिल्दैन । त्यतिवेला नयाँ पुस्ताले अघिल्लो पुस्तासँग सहकार्य नगर्न सक्छ । त्यो वेला सोच्ने तरिकामा परिवर्तन भइसकेको हुन्छ । फेरि बीसको दशकले तीसको दशकमा आउनेलाई अण्डरमा राख्न पनि सक्दैन । निरंकुशता स्वीकार्ने चरित्र मानिसको हुँदै होइन । त्यसले गर्दा समयले मानिसलाई असर गर्छ । अर्को कुरा विचारधाराले पनि निर्देशित गर्छ । कसैले देब्रे, दाहिने, घुमाउरो बाटोबाट पुग्छु भन्ला । त्यो रूचिको कुरा हो ।

अब हामीभन्दा पछाडि आएका आन्दोलनको प्रसंगमा तेस्रो आयाम, लीला लेखन हुँदाहुँदै हामीले किन सृजनशील अराजकता भन्ने ? भन्ने कुरा आउँथ्यो । त्यतिवेलाको समय एउटा शक्ति जनतामा गए, सत्ता सहरमा बस्यो । सदरमुकाममा बंकर खनेर बस्यो सत्ता । त्यो जनयुद्धको सन्दर्भले हामी तीनजनालाई केही कुरा दियो । त्यो कारणले साहित्यमा पनि हामीले आफूलाई खोज्नुपर्छ भनेर खोज्दा हामीलाई कतै भेटेनौं । त्यो ठूलो प्रयत्न थिएन, हामीलाई हाम्रा कुरा ल्याएर दिउँ भन्ने थियो । पछि प्रश्न्हरू आउन थाले, जवाफ दिनुपर्‍याे ।

जवाफको खोजी गर्दा एउटा आन्दोलन भएर जाँदो रहेछ । अहिले पनि हामी जवाफकै खोजीमा छौं । यसबीचमा साथीहरू समर्थनमा पनि आए, केही हाम्रो बाटो अलि कठोर भयो भनेर समन्वयत्मक भएर जानुपर्छ भनेर जाँदा रंगवाद लगायत जन्मिए । पछि त्यो रंगवाद पनि यस्तो भयो, सृजनशील अराजकता पनि यस्तो भयो भनेर अन्य जन्मिए होलान् । त्यस पछाडि उन्मुक्त पुस्ता आइपुग्दा हामी र उनीहरूबीच निकै लामो ग्याप देखिन्छ । यो पुस्ता ठूलो राजनीतिक परिवर्तनपछि आएको पुस्ता हो । आन्दोलनको क्रममा र अन्दोलनपछि आएको पुस्ताबीच पनि कति कुराहरू मिल्दैन । त्यसरी नै आन्दोलन जन्मिन्छन् ।

सृजनशील अराजकतापछि आएका आन्दोलनमा उन्मुक्त पुस्ताबाहेक अरू त्यति सक्रिय छैनन् । त्यसरी सक्रिय नहुनुमा सृजनशील अराजकताको भूमिका छ कि ? 

आन्दोलन त गतिविधिले गर्ने हो । कति गतिशील छन् भन्ने कुरा हो । राम्रो नारा र नामले मात्र आन्दोलन चल्ःदैन । सृजनशील अराजकतामा लागेका हामी होल टाइमर लेखक भयौं । कतिपय आन्दोलनका अभियान्ता कोही शिक्षक भएर बसे, कोही के । त्यसले आन्दोलनलाई गतिशील बनाउन सक्दैन । नारा राम्रो भएर मात्र हुन्न । त्यो नारालाई हाँक्ने मान्छे गतिशील हुनुपर्छ ।

लेखक साहित्यकारमध्ये सबैभन्दा बढी जातिवादको आरोप लाग्ने तपाईंलाई नै हो । तर त्यो आरोपबीचमा राजन मुकारुङलाई पछिल्लो समय आफ्नै समुदायले मतलब नगरेको हो कि भन्ने पनि देखियो नि ? 

कुनै समय म समुदायमै बढी संगठित थिएँ । त्यो वेला समुदायकै मान्छेसँग नजिक भइयो । त्यसपछि अरू गतिविधिमा सहभागी हुनुपर्छ भन्ने कुरा आउँदा आफ्नो समुदायसँग सम्बन्ध टुटेको हो कि जस्तो देखिने रहेछ । अनि हामीले बोल्दा राईको लागि मात्र बोल्नुपर्ने भन्ने होइन रहेछ, उत्पिडनमा रहेका सबैको आवाज बोल्नुपर्ने रहेछ । हाम्रो आन्दोलनको उद्देश्य जो जो उत्पिडनमा पारिएका छन्, उनीहरूका लागि बोल्ने  हो । त्यसो गर्दा समुदायले हाम्रोबारे बोल्न छोड्यो, अरूबारे फेकस भयो भनेर चित्त दुखायो होला । मैले पनि के सोचेँ हुँला कि मलाई जहिले पनि एउटै ठाउँमा राखिरहने ? सामान्य दुरी त बढ्छ नै त्यो दुरी आफैं कम हुँदै जान्छ ।

समुदायसँगको दुरी चाहिँ तपाईको प्रेमिकाको लफडाले पनि हो भन्ने सुनिन्छ ? 

होला । त्यो मान्छेको आ–आफ्नो बुझाइ हुन्छ । पछिल्लो समय नेपाली समाजको सबैभन्दा ठूलो रोग भनेको सामाजिक संजालले मान्छेको मस्तिष्कमा आक्रमण गर्‍याे । त्यसपछि मान्छेहरूमा को कोसँग लाग्यो, को बिग्रियो भन्ने बढी चासो छ । कसले सृजनात्मक काम गर्‍याे, कसले राम्रो दार्शनिक चिज आयो भन्नेतिर चासो छैन । को तरुनीसँग हिँड्दैछ, को च्याट गरिरहेको छ भन्नेतिर मात्र ध्यान छ । त्यसले गर्दा हाम्रै मगजको कारणले, हामी सृजनात्मक हुन नसकदा पनि त्यस्तो बुझिएको हो । अर्को कुरा म आफैं पनि के भएँ भने समाजको त्यस्तो चरित्रको विकास भएको छ भनेर जान्दाजान्दै पनि आफू पनि फसेकै हो ।

राजन मुकारुङको आन्दोलन मुख्य ठाउँमा छ । तर राजन मुकारुङले व्यक्तिगत जीवनलाई १५ औं प्रेमिका भनेर बाहिर ल्याएर लफडामा पर्नु आवश्यक थियो त ? 

साह्रै आदर्श पुरुष पनि नबनुँ भन्ने भयो । आफ्नो भएको जे कुरा हो, त्यही भनौं भन्ने लाग्यो । त्यसले नराम्रो गर्दैन होला भनेरै सोचियो । आफूलाई नढाटौं । चुरोट, रक्सी यति खान्छु या यसरी लभ गर्छु भनेर नढाँटी भनौं भनेर भनेको त सबैले कहाँ राम्रो भन्दा रहेछन् र ! ठ्याक्कै उल्टो हुँदो रहेछ । तर पनि म आफ्नो मुद्दामा चाहिँ ढलपल नहुने भएकाले केही असर गरे पनि म आफूलाई कमजोरै ठान्दिनँ ।

१५ प्रेमिकामाथि नयाँ पत्रिकामै छापियो । अहिले पनि तपाईं १५ औं प्रेमिकासँगै प्रेमसम्बन्धमा हो र ? १६ औं, १७ औं पो बनिसके कि ?

खासमा प्रेमिका भनेको केही होइन रहेछ भनेर थाहा भयो । मैले यसपालि कविता कृतिमा हरेक प्रेमिकाको नाममा एक एक ओटा गीत लेख्नुपर्‍याे भनेको ११ वटा भन्दा लेख्नै सकिनँ । प्रेमिका भनेको मेरो अनावश्यक भ्रम रहेछ, नत्र सबैको नाममा फुनुृपर्ने हो नि त । एउटा–एउटा सम्झना त आउनुपर्ने हो नि त ? म आफैं क्लियर थिइनँ छु कि भन्ने स्थिति पनि हो ।

खासमा प्रेमिका भनेको केही होइन रहेछ भनेर थाहा भयो । मैले यसपालि कविता कृतिमा हरेक प्रेमिकाको नाममा एक एक ओटा गीत लेख्नुपर्‍याे भनेको ११ वटा भन्दा लेख्नै सकिनँ । प्रेमिका भनेको मेरो अनावश्यक भ्रम रहेछ, नत्र सबैको नाममा फुर्नुपर्ने हो नि त ।

तपाई घरबाट निस्किएर एक्लै बस्नुहुन्छ भन्ने सुनिन्छ । तपाईंको बसाइ एक्लै हो कि प्रेमिकासँगै हो कि ? 

बसाइ भनेको प्रेमिकासँग पनि बसिन्छ, साथीभाइसँग पनि बसिन्छ । बस्ने ठूलो कुरा भएन । पहिलो कुरा त काठमाडौं सहरमा स्थायी घर भएको मान्छे होइन म । काठमाडौंमा मात्र होइन, मेरो जीवनभरि नै एक चपरी जमिन छैन । मेरो नाममा भनेको अहिलेसम्म नौ ओटा किताब हुन् । त्यसले गर्दा कहाँ खान्छु, बस्छु मेरो व्यक्तिगत कुरा हुन्, तर चासो बढी नै हुने रहेछ ।

पत्रकारहरूलाई पनि यही कुराको चासो हुने । यसले मलाई के गर्‍याे भने साह्रै धेरै पारदर्शी पनि नहुनु मान्छे, केही त ढाँट्नै पर्ने रहेछ भन्ने सिकायो । मैले त्यतिवेला बोल्दा जसरी लफडा भयो, मैले भनेकै छु– अरूजस्तो लोग्ने हुन सकिएन, जो रातभर वेश्यालय जाने, भोलिपल्ट श्रमितिको अगाडि आउँदा व्यापक मायालु भएर देखिने । त्यस्तो हुन सकिएन । म आदर्शवादी हुन नसक्दा यस्तो डिस्टर्बेन्स आएको हो ।

१६ औं, १७ औं प्रेमिकाको प्रेममा पनि पर्नुृ भयोहोला नि त ? 

परिन्छ । नपर्ने भन्ने कुरा नै छैन । अगाडि बाघ आइपर्‍याे भने नलड्ने ?

तर यस्ता कुराले तपाईंको मुद्दालाई कमजोर बनाउला नि ? 

आम मानिसले के भन्छ भनेर चिन्ता गर्न थालियो भने तपाई केही कुरा दिन सक्नुहुन्न । तर कति कुरा भन्न सकिन्छ भनेर लाग्नुभयो भने केही हुनसक्छ । नेपाली साहित्य कहाँ बिग्रियो भने मैले यो लेख्दा पाठकले पढिदिँदैन या मन पराइदिँदैन कि भनेर अल्झियौं । पहिले नै लेखक डराएर पाठकको विचारधारा लेख्न थालेपछि बिग्रिएको हो । आफ्नो विचारधारा, अनुभव लेख्न छाडेर पाठक खुसी पार्न पर्छ भन्नेबाट जब लेख्न थालियो अनि बिग्रियो ।

नेपालमा सर्वाधिक बिक्री हुने भनेको त चाउचाउ हो नि त । त्यो स्वास्थ्यको लागि हानिकारक छ । तर खाइन्छ । हामी साहित्यमा जंकफुड निर्माण गर्नेतिर लाग्यौं । हामी आन्दोलनमा लागेका पनि त्यता लागेर मेरो आन्दोलनले लाखौं जनता उफ्रन्छ भनेर लाग्यौं भने त्यो तत्कालको लागि त होला, तर आन्दोलनको दार्शनिक पाटो, जीवन्तता सकियो नि त ।

अघि तपाईले भन्नुभयो, अरू समुदायको मुद्दातिर लागेकाले आफ्नो समुदायसँग दुरी बढेको होला भनेर । तर अहिलेसम्म राजन मुकारुङलाई चासोको रूपमा हेर्ने ठू्रलो संख्या तपाईंको आफ्नै समुदाय छ । तर अब पनि दुरी बढाइरहने कि नजिक हुने ? 

यस्तो हो, मैले उठाउने मुद्दा उत्पिडितकै मुद्दा हो । मैले उठाएको मुद्दाभित्र मेरो समुदाय पर्छ कि पर्दैन, त्यो मेरो समुदायले जान्ने कुरा हो । मेरो समुदाय त्योभन्दा माथि उठिसक्यो भने राजन मुकारुङ गलत छ । राजन मुकारुङले हामी उत्पिडित छौं भनेर भनिरहँदा समुदाय त्योभन्दा माथि उठिसकेको अवस्थामा म मतलवको विषय होइन । तर मेरो समुदाय त्यही विषयमा लडिरहेको छ भने त राजन मुकारुङ र समुदायबीच कनेक्सन भइहाल्छ ।

मेरो कमजोरी के हो भने मेरो आख्यानमा पनि समस्या छ र कवितामा पनि छ । जब कविता लेख्न थाल्छु, आख्यान सोच्न थाल्दो रहेछु । जब आख्यान लेख्न थाल्छु, कविता सोच्दो रहेछु

अब त प्रज्ञा प्रतिष्ठानमा नियुक्ति खाने समय पनि भयो होला नि ? 

प्रज्ञा प्रतिष्ठान मात्र होइन, नियुक्ति खाने अन्य ठाउँहरू पनि छन् । नखाने भन्ने कुरा हुँदैन । तर त्यहाँ कुन प्रक्रिया र पद्दतिबाट लगिन्छ भन्ने चाहिँ ठूलो कुरा हो । त्यहाँ केके गर्न दिइन्छ, त्यो महत्वपूर्ण कुरा भयो । जबसम्म ती संस्थाहरू स्वतन्त्र ढंगले आफ्नो विवेकले काम गर्ने हैसियतमा हुँदैनन्, त्यहाँ जानुको अर्थ हुन्न । तलब खाने मात्र होइन्छ । तपाईंले आफ्नो विचारधारामाथि काम गर्ने वातावरण बनोस्, त्यसैका लागि हामीले तलबाट लडाइँ गरिरहेका छौं । अहिले प्रतिष्ठानकाृे कुलपति र प्राज्ञ भएर फाइदा के छ ? तर यसकारण यो मान्छे प्राज्ञ हो भन्ने बनाइयोस् । आम मान्छेले गर्व गर्ने स्थिति बनोस् । यसकारण यो मान्छे यो संस्थानको मान्छे हो भनुन् । चाकडी होइन, गौरव गरुन् ।

अघि भन्नुभयो, सम्पत्तिको नाममा किताब मात्र छन् । जागिर पनि गर्नुभएको छैन न सरकारी नियुक्ति खानुभएको छ । तर तपाईं बाँचिरहनुभएको चाहिँ के कारणले हो ? 

जति नेपाली भाषाप्रति मेरो ज्ञान र सीप छ, त्यही कारणले हो । किताब पनि बिक्री भइरहेको छ । कति साथीहरूको किताबहरू हेर्ने गर्छु । सीधा देखिने त्यो भइहाल्यो । त्यसपछिको अर्को सम्पत्ति भनेको मैले बाँचेको समुदायको जीवन, संस्कृतिमाथि जति ज्ञान छ, त्यही कारणले पनि बाँचिरहेको छु ।

अब मुद्दाको कुरा गरौं । राजन मुकारुङ सधैं बाहुनलाई गाली गरिरहन्छ भन्ने छ । मन्त्री उपेन्द्र यादवको अन्तर्वार्ताको विषयमा तपाईंले पत्रकारलाई निकै गाली गर्नुभयो नि ? साथै तपाईं सधैंभरि सत्तासँग, बाहुनसँग किन आक्रोशित भइरहनुहन्छ त ? 

नेपालमा जुन मनोविज्ञान सेट छ, त्यो सेट भएको मनोविज्ञानलाई लिएर अरूमाथि जसरी व्यवहार हुन्छ, त्यो व्यवहारको अन्त्य हुनुपर्छ भन्ने हो । उपेन्द्र यादवको ठाउँमा कुनै पहाडिया नेता हुन्थ्यो भने प्रश्न त्यसरी हुन्थ्यो होला त ? सामान्य दर्शकले पनि त्यो कुरा बुझ्छ । उपेन्द्र यादवको पनि आफ्नै किसिमको घमण्ड देखिन्छ, तर अर्को पहाडिया नेता हुन्थ्यो भने त्यसरी प्रश्न सोधिन्थ्यो कि सोधिन्थेन ? जो प्रश्न सोध्ने पत्रकार हो, उसको मनोविज्ञान सेटेड छ । सेटेड प्रवित्ति छ । हामी त्यही प्रवृत्तिको विरोधी हौं, बाहुन जातको होइन ।

अगाडि पहिचानको कुरा सेन्टरमा आउने प्रयत्न पनि हो भन्नुभयो । राजनीतिक रूपमा पनि साहित्यको माध्यमबाट सक्रिय हुनुहुन्छ । अहिले विप्लवले जे गरिरहेको छ, उसको पनि सेन्टरमा अउने प्रयत्न नै होला । विप्लवलाई चाहिँ राजन मुकारुङको आँखाबाट कसरी हेरिन्छ ?

सत्ताको आँखाले चाहिँ विपक्षीले उठाएको आवाजलाई अराजक देखिहाल्छ । सत्ताले चाहिँ कति अराजक व्यवहार गरिरहेको छ त ? दुई तिहाइको सरकार छ, उसैले आफूबाट फुटेर गएको सानो समूहलाई किन प्रतिबन्ध गर्नुृपर्ने ? लोकतान्त्रिक गणतन्त्र पनि भन्ने, अनि राजनीति गर्नै नदिने भन्ने होइन । के हो भने कतिपय गतिविधि होला, जसलाई स्वीकार्न नसकिएला । केही कार्यकर्ताको प्राविधिक कमजोरीको कारणले पनि केही विध्वंस बढेर जान्छ । के विप्लवले एनसिएलको टावर हान्नु गलत थियो र ? एनसिएलले यत्रो देशलाई डस्दा चाहिँ हुने ?  निहुँ त्यति देखाइएको हो । विप्लवको अरू राजनीतिक उद्देश्य अर्को होला । तर आम जनताले देख्दा त्यति देखिन्छ । एनसिएलको टावर भत्कायो साथै अराजक कर्हत गर्‍याे र प्रतिबन्ध लगायो ।  एनसिएलले पनि ठगेको छ भनेर सारा जनतालाई थाहै  छ । भनेपछि सबैलाई दायरामा ल्याउ भन्ने हो हामीले । भलै विप्लवको रूचि अरू पनि होलान् । तर पनि उसले समाजमा यो यो कुरा अझे आइसकेको छैन भन्दा उसलाई प्रतिवन्ध नै लगाउनुपर्ने हाम्रो समयको राजनीतिक चरित्र होइन नि त । त्यस कारणले बढीभन्दा बढी मेरो विप्लवप्रति नै सहानुभ्रति छ । उसको आन्दोलनप्रति नै समर्थन छ ।

अन्तिममा तपाईं सफल आख्यानकार हुँदै गर्दा राजन मुकारुङलाई कवि कि आख्यानकार भनेको मनपर्छ ? 

मलाई दुवै सम्बोधन भन्दा पनि साहित्यकार भनेको रुचाउँछु । साहित्यको सबै विधामा कलम चलाउन सक्छु ।


ताजा खबर