कोरोना संक्रमणबाट पर्सामा थप एक महिलाको मृत्यु भएको छ । त्यसैगरी २२ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा उपचाररत् वीरगन्ज महानगरपालिका वडा नं. १५ भेडियाही निवासी ४५ वर्षीय महिलाको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले मृतक महिलालाई पहिला देखि नै उच्च रक्तचाप, थाइराइट र स्वासप्रस्वासको समस्या रहेको बताउनुभयो । पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ भारतीय सहित २२ पुगेको छ ।
यसैबीच पर्सामा थप २२ जनामा संक्रमण पुष्टी भएको छ । २२ वर्ष देखि ५५ वर्ष उम्मेर समुहका ६ जना महिला र १६ जना पुरुषमा संक्रमण पुस्टि भएको मेसु उपाध्यायले जनाकारी दिनुभयो ।
गएरातीको पिसिआर रिर्पोटमा पोखरिया अस्पतालका एक जना चिकित्सक सहित ४ जना स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना सुरक्षाकर्मी र नारायणी अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा संक्रमण पुष्टी भएको हो । पर्सा जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार ३४ पुगेको छ ।