तिहारअघि मन्त्रिपरिषद् पुनर्गठन नहुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २९ असोजमा आयोजना गरेको चियापानअघि, बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाको केन्द्रीय सचिवालय बैठक बस्यो ।

केही दिनयता मन्त्रिपरिषद पुनर्गठनबारे चर्चा चुलिएकाले नेकपाको बैठकले त्यसबारे ठोस निर्णय गर्ने धेरैको अपेक्षा थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन चित्तबुझ्दो नभएकाले केही मन्त्री हटाउन लागेको र उनीहरुलाई एक दुई दिनमै हटाउन लागिएको भन्दै नाम समेत सार्वजनिक भइरहेको थियो ।

कतिसम्म भने, केहीले त बैठकले नयाँ बन्ने मन्त्रीको नाम समेत चयन हुने आकलन गरेका थिए । मन्त्री बन्नेहरुको सम्भावित सूची समेत सञ्चारमाध्यममा आउन थालिसकेको थियो ।
तर, सचिवालय बैठक नेकपाको संगठन विभागमा थप तीन जना सदस्य मनोनीत गर्ने निर्णय गरेर टुंगियो ।

बाहिर चर्चा भइरहे झैं के मन्त्रिपरिषद पुनर्गठनको तयारी भइरहेको हो ? त्यसो हो भने त्यसबारे नेकपाको सचिवालय बैठकले किन कुनै निर्णय गरेन ?

नेकपाका सचिवालय सदस्य माधवकुमार नेपालले भने यसबारे केन्द्रिय सचिवालय मात्र नभई पार्टीका कुनै तहमा छलफल नभएको देखापढीलाई बताए । नेपालले भने, “यो हल्ला मात्र हो, यसबारे पार्टीमा चर्चा भएकै छैन ।”

नेकपामा मन्त्रिपरिषद पुनर्गठनबारे चर्चा हुनु वा नहुनु फरक प्रसंग हो । अब कम्तीमा तिहारभन्दा पहिले प्रक्रियागत हिसाबले पनि मन्त्रिपरिषद पुनर्गठन सम्भव देखिँदैन ।

किनभने राष्ट्रपति विद्यादेवी भण्डारी २९ असोजमा आफ्नो राजकीय भ्रमणका क्रममा म्यानमार प्रस्थान गरेकी छन् । म्यानमारपछि जापानको भ्रमण समेत सकेर उनी ६ कात्तिकमा मात्र स्वदेश फर्कनेछिन् ।

राष्ट्रपति फर्केको भोलिपल्ट, ७ कात्तिकमा प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजानको राजधानी बकु जाँदैछन् । प्रधानमन्त्री १० कात्तिकमा त्यहाँबाट फर्कंदा तिहार शुरू भइसकेको हुनेछ ।

“तिहारपछि मन्त्रिपरिषद पुनर्गठन हुन्छ या हुँदैन भन्ने प्रधानमन्त्री स्वयम्‌लाई थाहा होला”, प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, “तिहारअघि चाहिँ पुनर्गठनको कुनै गुञ्जायस छैन ।”


ताजा खबर