धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३७.७४ अङ्कले बढेर एक हजार ४३०.४१ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ७.६३ अङ्कले बढेर २९८.६४ पुगेको छ ।
स्टकका अनुसार आज कुल १८९ कम्पनीका ४२ लाख ५२ हजार ८०८ कित्ता शेयर रु एक अर्ब ५५ करोड ५५ लाख १८ हजार ९२३ मा खरिदबिक्री भयो । आज कारोबार भएका कुल १२ मध्ये एक उपसमूहको शेयर मात्र ओरालो लागेको छ ।
सामूहिक लगानी कोष ०.०३ अङ्कले ओरालो लाग्दा बैंकिङ ३२.९३, व्यापार १०.१४, होटल ५८.१, विकास बैंक ५५.४१, जलविद्युत् २३.२३, वित्त ७.६७, निर्जीबन बीमा २८३.०८, उत्पादन ५४.८६, अन्य १२.६३, लघुवित्त ७१.५७ र जीवन बीमा २२३.१५ अङ्कले उकालो लागे ।
कारोबार रकमका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु सात करोड १६ लाख ३९ हजार ८८ मा खरिदबिक्री भयो ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड ८१ लाख ५० हजार २८३, एनआइसी एसिया बैंकको रु पाँच करोड ३८ लाख १६ हजार ६६३, अजोड इन्स्योरेन्सको रु चार करोड ८४ लाख २२ हजार ४४५ र एनएमबी बैंकको शेयर रु तीन करोड ३९ लाख ७८ हजार ९६ मा कारोबार भई शीर्ष स्थानमा रहे ।
आज साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.८६ प्रतिशतले कमाए । यस्तै अजोड इन्स्योरेन्स कम्पनी ९.८५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ८.७०, एभरेष्ट इन्सयोरेन्स ८.५८ र साङ्ग्रीला डेभलपमेन्ट बैंकका शेयरधनीले ८.३९ प्रतिशतले कमाए ।
दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५।७० प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीय वित्तीय संस्था ४.७६, वेष्ट फाइनान्स कम्पनी ३.९२, खानीखोला हाइड्रोपावर ३.९२ र घलेम्दी हाइड्रोपावरका शेयरधनीले ३.४५ प्रतिशतले गुमाए ।
पहेँलो धातुको मूल्यमा सामान्य गिरावट
आज पहेँलो धातुको मूल्यको सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु २०० ले घटेकोे छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ४०० तोकेको छ । आइतबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ६०० तोकिएको थियो ।
तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० तोकिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु एक हजार ३९५ कायम भएको छ । रासस