चौधरी फाउण्डेसनले कोभिड १९ का गम्भीर बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि चौथो चरणको सहयोग अन्तर्गत आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आठ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ ।कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या वृद्धि भएसँगै अस्पतालहरुमासघन उपचार कक्ष र भेण्टिलेटरहरुको अभाव भैरहेको अवस्थामा चौधरी फाउण्डेसनले हस्तान्तरण गरेका भेन्टिलेटर प्रदेश–१, प्रदेश–२ बाग्मति र प्रदेश ५ मास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारहरूसँगको समन्वयमा अस्पतालहरूलाई उपलब्ध गराउनेछ ।
भेण्टिलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ का गम्भीर बिरामीहरुको संख्या बढीरहेको अवस्थामा चौधरी फाउण्डेसनले गरेको सहयोगको उच्च प्रशंसा गर्नु भयो। हस्तान्तरण कार्यक्रमा फाउण्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले कोभिड–१९ का क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरिएको बताए ।साथै अप्ठेरो र विपद्को समयमा फाउण्डेसनले सहयोग गर्दै आएको र थप सहयोगका लागि सधैं तत्पर रहने प्रतिबद्दता ब्यक्त गरेका छन।
कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि फाउण्डेसनले यसअघि तीन चरणमा सहयोग हस्तान्तरण गरिसकेको छ । पहिलो चरणमा ४८ वटा अस्पताल एवं स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका लागि पीपीई, एन–९५मास्क लगायत स्वास्थ्य सरक्षा सामग्री हस्तान्तरण गरेको थियो । दोस्रो चरणमा चौधरी फाउण्डेसनले कोभिड–१९ को परिक्षण किट सहयोग गरेको थियो । फाउण्डेसनले १००० थान ‘पीसीआर रिएजेन्ट’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । तसो चरणमा फाउण्डेसनले अति संवेदनशील कर्णाली र प्रदेश नं. २ मा स्वास्थ्य सामग्री वितरण गरेको थियो ।