संसारमा सबैभन्दा पहिलो कोभिड–१९ खोप दर्ता गर्ने मुलुक रूस बनेको रूसी समाचार संस्था स्पुतनिकले जनाएको छ ।
“मेरो जानकारी अनुसार संसारमा कोभिड–१९ सङ्क्रमणविरुद्धको पहिलो खोप आज बिहान दर्ता गरिएको छ,” राष्ट्रपति भ्लादिमीर पूटिनले सरकारसँगको बैठकमा भन्नुभयो ।
“मलाई आशा छ कि निकट भविष्यमा हामी यस औषधीको सामूहिक उत्पादन सुरु गर्न सक्षम हुनेछौं, जुन एकदम महत्वपूर्ण छ,” उहाँले थप्नुभयो ।
आफ्नी एउटी छोरीले खोपको परीक्षणका लागि एक मात्रा प्रयोग गर्ने सौभाग्य पाएको भन्दै रूसी राष्ट्रपतिले यसमा खुशी व्यक्त गर्नुभयो । “मेरी छोरीमध्ये एक छोरीलाई खोप दिइयो । वास्तवमा उनले एक प्रयोगमा भाग लिइन् । पहिलो खोप लगाएपछि उनको शरीर ३८ डिग्री सेल्सियस (१०० डिग्री फरेनहाइट) पुगेको थियो । तर भोलिपल्ट तापक्रम केही कम तर ३७ डिग्रीभन्दा माथि रहेको थियो ।”
यसैबीच, रूसका स्वास्थ्यसेवा मन्त्री मिखाइल मुराश्कोले रुसी माइक्रोबायोलोजी अनुसन्धान केन्द्र गमलेयाको कोभिड–१९ खोपलाई राज्यले दर्ता गरेको जानकारी दिनुभएको छ । गमलेयाले बनाएको खोप सुरक्षित र प्रभावकारी साबित भएको उहाँले बताउनुभयो ।
यद्यपि खोपबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक धारणा आइसकेको छैन ।
जोन्स हप्किन्स विश्विद्यालयको पछिल्लो अपडेट अनुसार हालसम्म कोभिड–१९ बाट विश्वमा दुई करोड ९२ हजार ८५५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म सात लाख ३६ हजार २५४ सङ्क्रमितको मृत्यु भएको छ ।
रासस / स्पुतनिक