छुईप्रथा र महिनावारी परम्परा : परिवर्तनका लागि सुरुवात स्वयमबाटै गर्नुपर्छ

  • कृष्ण शर्मा

पटक–पटक सुन्दै र अखबारहरूमा पढ्दै तथा अनुभूति पनि गर्दै आएको एउटै कुरा हो महिला आफ्ना लेख–रचनाहरूमा चुलोचौको, परिवार र महिनावारीभन्दा पर खासै जान सक्दैनन् । फराकिलो सोचाइ राख्न सक्दैनन् । सधैँ यस्तै भान्सा, तरकारी अनि लोग्ने र परिवारको परिवेशमै सीमित हुन्छन् भन्ने टीका–टिप्पणी कुनै नौलो होइन । यथार्थ तीतै हुन्छ भन्ने मान्यतालाई अँगाल्दै आलोचनाहरूलाई स्वीकार गर्ने प्रण गरेर महिलाका निजी जीवनसँग जोडिएको प्रसङ्ग महिनावारीको विषयमा यहाँ लेखिएको छ ।

महिनावारी भनेको महिलामा हुने शारीरिक परिवर्तनहरूमध्येको एक हो । यो महिलाको शरीरमा भएका हर्मोन्सको मात्रामा आउने परिवर्तनका कारणले हुुन्छ । यो एक शारीरिक एवम् जैविक प्रक्रिया हो । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन । यो केवल शरीरको विज्ञानसँग सरोकार राख्ने प्रक्रियामात्र हो । हामीकहाँ छाउपडीप्रथा आजपर्यन्त सामाजिक बहसको विषय बनेको छ । जहाँ महिलालाई महिनावारीको बखत अलग्गै असुरक्षित ढङ्गले राखिने परम्परा छ । यो प्रथा अहिले विभिन्न अभियान सञ्चालन गरी जागरणमार्फत हट्दै गए पनि मानसिक रूपमा यससम्बन्धी धारणाहरू फेरिएका छैनन् । अभियानमार्फत छाउगोठहरू भत्काइए पनि सदीयौँदेखि समाजमा जरो गाडेको अन्धविश्वासको जालो भने अझै भत्किसकेको छैन ।

मासिक श्राव महिला प्रजननका निमित्त योग्य भएको सङ्केत हो । तर, चेतना अभावमा पहिलोपटक महिनावारी हुँदा केटीहरू डराउँछन् । विभिन्न धार्मिक मान्यताले गर्दा उनीहरू घरभित्रै धेरै काम गर्नबाट वञ्चित हुन्छन् या उनीहरूलाई रोक लगाइन्छ । गाउँको मात्र होइन, सहरी सम्भ्रान्त सभ्यतामा समेत महिनावारी भएका महिलालाई धेरै कुरामा बन्देज लाग्छ ।

यसै प्रसङ्गमा मेरो आफ्नै एउटा कथा जोड्न मन लाग्यो । केही वर्षअघि भाइटीका मनाउनका लागि म घर गएकी थिएँ । भाइटीकाको दिन बिहानै मलाई महिनावारी भयो । म चुपचाप बसेँ । मेरी शिक्षक दिदी टाढाबाट तिहारकै लागि भनेर माइतीघर आएकी थिइन् । दिदी र मैले संयुक्त रूपमा दाजुभाइलाई टीका लगाउने कार्यक्रम थियो । टीकाको ठीक साइतकै बेला भइसकेको थियो । तर, दिदी एकाएक हराइन् । एकछिन पछि गहभरि आँसु झार्दै दिदी देखापरिन् । कुरा अरू केही थिएन, उनलाई महिनावारी भएछ । दिदीले आफ्नो भाग्यलाई दोष दिँदै आफँैलाई श्राप गर्दै दुःख मानेर परैबाट रुँदै टुलुटुलु हेरेर बसिन् । दिदीले तत्काल स्वयम् आफैँलाई अछुत घोषित गरिन् । त्यो अवसरबाट आफैँलाई वञ्चित गराइन् ।

यता म दिदीभन्दा पहिल्यै महिनावारी भइसकेको भए पनि निर्धक्कसाथ टीकाका लागि तम्तयार हुँदै थिएँ । यो कुरा मैले कसैलाई जानकारी गराएको थिइनँ । यस्तो कुरा बताएर वर्ष दिनभरिमा एक दिन आउने चाडबाडबाट मैले आफूलाई वञ्चित गर्न चाहिनँ । मलाई विश्वास थियो कि मैले कुनै पाप गरेको होइन । यो एक प्राकृतिक प्रक्रिया मात्र हो । जुन स्वाभाविक गतिमा भइरहन्छ जुन प्रक्रियालाई मैले सहजै लिए ।

यी र यस्ता थुप्रै प्रसङ्गहरू छन्, जहाँ मैले महिनावारीको अवज्ञा गरेर स्वाभाविक रूपमा ग्रहण गरिरहेँ । म एक साधारण परिवार र गाउँले परिवेशमा जन्मी हुर्केकी केटी, मलाई सुरुवाती अवस्थामा यसबारेमा चेतना थिएन । जब बुझ्ने भएँ, यसलाई मैले सामान्य रूपमै लिएँ । मैले महिनावारीकै नाममा कुनै कुराबाट आफूलाई वञ्चित गर्न मन लागेन । मन लागेको जति गर्दै आए ।
महिनावारीबारे गलत धारणाहरू वा भ्रमहरू हाम्रो समाजमा रहँदै आएका छन् । पढेलेखेका महिला स्वयम् यस विषयलाई धर्म, संस्कार र परम्परासँग जोडेर महिनावारीलाई अशुद्ध बनाउने गरेको तीतो यथार्थहरू हामीले अनुभूति गरेकै विषय हो । आफूलाई अछुत बनाउनमा महिलाकै बढी हात रहेको देखिन्छ । जतिसुकै सभ्य र सहरी संस्कारमा हुर्केकी महिला किन नहुन्, महिनावारीको समयमा आफूलाई अलग्याउने परिपाटी रहेको पाइन्छ ।

घरबाहिर सार्वजनिक मञ्चहरूमा महिलाका अधिकार, स्वतन्त्रता र उन्मुक्तिका चर्का चर्का भाषण गर्दै युग परिवर्तनका आवाज बुलन्द गर्नेहरू घरभित्र छिरेपछि महिनावारीको बेला भान्सा र पूजाकोठाबाट अलग बन्न रुचाउने प्रवृत्ति रहेको देखिन्छ । महिनावारी हुँदा महिलाले चाडबाड, विवाह, व्रतबन्ध आदि धार्मिक रीति र संस्कारमा आफूलाई अपवित्र ठान्ने र अलग्याउने गरेका छन् । धर्म र संस्कारका नाममा अन्धविश्वास पालेर आफ्नै शरीरलाई कष्ट दिने गरेको थुप्रै दृष्टान्तहरू हाम्रो समाजमा छन् । त्यसमा पनि शिक्षित र सम्भ्रान्त घरानामा अझै बढी व्याप्त रहेको छ ।
जबसम्म महिला आफूभित्र रहेको परम्परागत अन्धविश्वासरूपी भ्रमबाट माथि उठ्न सक्दैनन्, तबसम्म छुईप्रथासँग जोडिएका

यावत् कुरूप दृश्यहरू बेहोरिरहनुपर्नेछ । विशेषगरी महिलाका हक–अधिकार र स्वतन्त्रताका लागि अग्रपङ्तिमा रहेर काम गरिरहेका अधिकारवादी र विद्वत्वर्ग सबैभन्दा पहिला परिवर्तन नभईकन अन्य सर्वसाधारण महिलालाई जागरण ल्याउन सम्भव छैन । अतः परिवर्तन चाहने हो भने सुरुवात स्वयमबाटै गर्ने अठोट गर्नुपर्छ ।


ताजा खबर