राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारबाटै जापान जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छन्। हाल म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी त्यहाँबाट सिधै जापान जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रपति भण्डारी कात्तिक ५ गते आयोजना हुने जापानी सम्राट नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नेछिन्। राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्ने स्वागत समारोहमा भाग लिने बताइएको छ। यसैगरी उनले जापानस्थित गैरआवासीय नेपाली संघले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुनेछिन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनेछन्। राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।


ताजा खबर