बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन नौ सदस्यीय कार्यदल गठन गरिएको छ । काठमाडौंमा शुक्रबार बसेको प्रतिष्ठानको ४४औँ सिनेट बैठकले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको हो ।
सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ । प्रतिष्ठानलाई थप विकास र विस्तार, विशिष्टिकृतपूर्ण विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको हो । कार्यदलमा प्रा डा उपेन्द्र कोइराला, प्रा डा मोहनचन्द्र रेग्मी, प्रा डा मधुर भट्टराई, प्रा डा बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन् । अन्य तीनजना सदस्य थप्ने गरी कार्यदल बनाइएको हो ।
बैठकले प्रतिष्ठानको नियमावली मस्यौदा समिति समेत गठन गरेको छ । समितिको संयोजकमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा डा गुरुप्रसाद खनाललाई तोकिएको छ । समितिले प्रतिष्ठानको शैक्षिक, कर्मचारी, आर्थिक लगायतका नियमवाली बनाउनेछ ।
बैठकले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्ब ९८ करोड ६७ लाखको बजेटसमेत पास गरेको छ।
बैठकले प्रतिष्ठान हाताभित्र ट्रमा सेन्टर र मानव अंग प्रत्यारोपण अस्पताल निर्माण गर्ने निर्णयसमेत गरेको छ । स्वास्थ्यमन्त्री ढकालको विशेष प्रस्तावमा मोरङको सुन्दरहरैँचामा छुट्टै सरुवारोग अस्पताल निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले पुनरावेदन आयोगको रिक्त पदमा प्रदेश १ का प्रदेश सभा सदस्य राजकुमार ओझा र प्रा.डा. दिव्यसिंह साहलाई सिफारिस गरेको छ ।
प्रतिष्ठानमा बन्द भएको बिएस्सी एमएलटि कार्यक्रम पनि सुरु गर्ने प्रतिवद्द्ता गरेको छ ।