भक्तपुरको मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ ।
मध्यपुर थिमि नगर क्षेत्रमा भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो । नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।
यसैबीच नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।