पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मन- पीएसजी पहिलो पटक यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइप्जिगलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको तेह्रौ मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ४२ औँ मिनेटमा एन्जल डी मारियाले अर्को एक गोल गरेका थिए ।

खेलको ५६ ‍औँ मिनेटमा जुआन बर्नाटले अर्को गोल थपेपछि पीएसजी, क्लब स्थापनाको ५० वर्षमा पहिलो पटक, च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

जारी सिजनमा लगातार तीनवटै शीर्ष फ्रान्सेली फुटबल लिगहरु जितेको पीएसजी च्याम्पियन्स लिग पनि जित्ने दाउमा रहेको छ । साथै उत्कृष्ट फर्ममा रहेको पीएसजीमा नेयमार र एम्बापे लगायतका स्टार खेलाडीहरू छन् ।

आजराति हुने अन्तिम सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र अर्को फ्रान्सेली क्लब लियोनबीच खेल हुँदैछ । उक्त खेल नेपाली समयानुसार राति १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

अब उपाधिका लागि पीएसजीले बायर्न र लियोनबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । बायर्नले हालसम्म पाँच पटक च्याम्पियन्स लिग जितेको छ भने लियोन सेमिफाइनलसम्म मात्र पुग्न सफल भएको छ। लिगको फाइनल खेल भने आगामी आइतबार राति हुनेछ । रोयटर्स


ताजा खबर