कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित भएकाहरुको संख्या दुई करोड २० लाख पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी अहिलेसम्म दुई करोड १९ लाख ८७ हजार २०७ जना सङ्क्रमित भएका छन् ।
कुल सङ्क्रमितमध्ये सात लाख ७७ हजार १८ जनाको मृत्यु भइसकेको विश्वविद्यालयले जनाएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म ५४ लाख ८० हजार ४८७ जना संक्रमित भएका छन् भने एक लाख ७१ हजार ६३६ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि दोस्रो धेरै प्रभावित ब्राजिलमा अहिलेसम्म कुल ३३ लाख ५९ हजार ५७० जना सङ्क्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ५३६ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वभरी दैनिक सङ्क्रमितको संख्या बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि बृद्धि हुँदै गएको छ ।
दक्षिण एसियामा भारतमा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार भारतमा करिब २७ लाख ६९ हजार संक्रमित भएका र तीमध्ये ५३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । रासस/एएनआई